अबको राजनीति युवाले सम्हाल्नु पर्छ : मिश्र
सुर्खेत
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पुरानै ढर्राबाट जाने हो भने देशको विकास हुन नसक्ने बताउनु भएको छ । अबको राजनीति युवाले सम्हाल्नु पर्ने मिश्रको भनाई थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको नागरिक सम्बोधन तथा संगठन विस्तार कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । २००७ सालको समयको योजना बनाएर अघि बढ्नु समय सान्दर्भिक रुपमा चल्न नसक्नु हो भन्दै अबको युगले मागे अनुसारको योजना बनाउनु पर्ने उहाँको भनाई थियो । ठूला पार्टीका नेताहरुलाई अंगित गर्दै विवेकशील साझा पार्टीका केन्द्रिय संयोजक मिश्रले भन्नुभयो, ‘हिजोका दिनमा अधिकारको लडाई लडियो र जेलमा बसियो भन्दैमा अब त्यसलाई भजाएर खाने दिन गए ।’

राजनीतिक दलका नेतृत्वका कारण देशको बिकास हुन नसकेको भन्दै मुलुकको समृद्धिका लागि विवेकशील साझा पार्टी जन्मिएको बताउँदै मिश्रले भन्नुभयो, ‘संख्यात्मक रुपमा कम भएपनि हामीले बोकेको सिद्धान्त र हिडेको बाटो ठूलो भएकोले एक दिन साँच्चिकै भ्रष्टाचार मुक्त नेपालको निर्माण कार्यका लागि नेपाली जनताले साथ दिन्छन् ।’ ‘नेपालीको नागरिक अधिकारका लागि लडेका नेताहरुप्रति म सम्मान गर्नु पर्ने त हिजोका दिनमा हामीले राजनीतिक लगानी गरेका थियौ भन्नेहरुलाई आज भ्रष्टाचार गरे त्यो नेपाली जनतालाई मान्य नहुने उहाँको भनाई थियो ।

बिकासको प्रचुर सम्भावना बोकेको कर्णालीलाई गरिवीको चित्र देखाउने काम वर्तमान शासकहरुले गरेको दावी गरे । ‘कर्णाली आफैमा थुप्रै सम्भावनाको खानी हो’ मिश्रले भने, ‘यहाँको विकटतालाई देखाएर खान पल्केकाहरुले सम्भावनाभन्दा बढी समस्या मात्रै देखाए ।’ दशकौदेखि अपर कर्णाली र चौकुने सिमेन्ट कारखाना निर्माणको सपना देखाएर भोट माग्ने नेताहरु जनतालाई सपना मात्र देखाएको बताए ।
कर्णालीमा प्राकृतिक सम्पदा, पर्यटकीय सम्भावना, जडिबुटीले कर्णालीको बिकास गर्न सकिने भन्दै त्यसको लागि राजनीतिक नेतृत्व परिवर्तन जरुरी भएको बताए । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य केशव दाहालले नेपाली काँग्रेसको प्रजातन्त्र र कम्प्युनिष्ट पार्टीको समाजवादको नारा लगाए पनि त्यसले गरिब जनतालाई सम्बोधन गर्न नसकेको बताए । ‘जसले नेताहरुलाई भोट हालेर सत्तामा पु¥याउँछन् ती गरिव जनताको चुल्होमा आगो बाल्ने अवस्था पनि नहुनु र चप्पल लगाउने नेताले चुनाव जिते पछि पजेडो चढ्नु र महलमा बस्नु यो कस्तो समाजवाद र प्रजातन्त्र हो । कार्यक्रममा केशब दाहाल, प्रकाश चन्द्र परियार, कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाललगायतले सम्बोधन गर्नुभएको थियो ।






