Loading... आजः १६ भाद्र २०८३, मंगलवार । Tuesday 1st September 2026

कृषि तथा संस्कृतिक पर्यटन प्रवद्र्धन व्यापार महोत्सव शुरु

सुर्खेत
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज (शुक्रबार) देखि कृषि तथा संस्कृतिक पर्यटन प्रवद्र्धन व्यापार महोत्सव शुरु भएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सुर्खेतको आयोजनामा उक्त महोत्सव शुरु भएको हो । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले उक्त महोत्सवको एक समारोहका बीच उद्घाटन गर्नुभएको हो । मन्त्री बुढाले पर्यटन क्षेत्रको विकासबाट नै कर्णालीको समृद्धि सम्भव रहेको बताउनु भयो ।

‘पर्यटक क्षेत्रको विकासबाट नै कर्णालीको विकास र समृद्धि सम्भव छ’ मन्त्री बुढाले भन्नुभयो ‘पर्यटन प्रवद्र्धनका लागि हुने महोत्सवले प्रदेशको समृद्धिलाई सहयोग पु¥याउनेमा प्रदेश सरकार विश्वास लिएको छ ।’ जातिय विभेद अन्त्य हुनुपर्ने बताउँदै बुढाले भन्नुभयो  ‘यो कुनै जातविशेषको महोत्सव होइन् । अब जाजजाति र धर्मको कुरा नगर्न सबैमा अपिल गर्दछु ।’ नेपाल विभिन्न जातजाति र धर्मको साझा फूलबारी भएको बताउँदै हरेक समूदायले आ–आफ्नो जातिअनुसार धर्मसंस्कार मनाउन पाउनु पर्ने उल्लेख गर्नुभयो। जनजाति एकताको प्रशंसा गर्दै उनले बुद्धसरोबर निर्माणका लागि आयोजना गरिएको महोत्सवको पूर्ण सहयोग मिल्ने बताउनु भयो । ‘नेपाल बुद्ध जन्मेको देश हो’ मन्त्री बुढाले भने ‘सुर्खेतमा बुद्धसरोबर बनाउनु आफैमा नेपाल र नेपालीको पहिचानको विषय हो ।’

महोत्सव यही कार्तिक १४ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न जातजातीका भेषभुषा झल्किने पहिरनका साथ विभिन्न झाँकीहरु प्रदर्शन गरिएका छन् भने आदिवासी जनजाती महासंघमा आवद्ध जातजातीहरुका विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने बताइएको छ । महोत्सवमा विभिन्न व्यापारिक स्टलहरु समेत रहेका छन् । लोपोन्मुख अवस्थामा रहेको राउटे जातीको समेत सहभागीता रहेको उक्त महोत्सवबाट भएको आम्दानीले सुर्खेतको बुद्धपथमा रहेको बुद्ध सरोबरमा बुद्ध मुर्ति स्थापना गरिने आयोजकले जनाएको छ ।

महोत्सव उद्घाटन समारोहमा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल, कर्णाली प्रदेश सभाका सदस्यहरु, विभिन्न जातजातिका भातृसंगठनका पदाधिकारीहरुलगायत सर्वसाधारणहरुको उपस्थिति रहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत सांस्कृतिक प्रस्तुती समेत रहने छ ।