कर्णालीको विकास गर्न जनताको साथ अनिवार्य : मुख्यमन्त्री
कालीकोट, १० मंसिर ।
कर्णाली प्रदेशको विकास गर्नका लागि जनताले साथ अनिवार्य रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले भने– ‘तपाई हामीलाई जनताले सरकारमा पठाएका हुन, हामी जनतातिरै फर्कनुपर्छ ।’ विकास अभियानमा दातृनिकायको सहयोगी भुमिका मात्र हुने वताउदै जनतालाई साथमा नलिई विकास र समृद्धिको अभियान पुरा नहुने उनको भनाई थियो ।

जिल्ला समन्वय समिति कालीकोटद्धारा आयोजित दोश्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको अभियानमा जनतालाई गोलवन्द गर्नुपर्ने वताए । मुख्यमन्त्री शाहीले नकारात्मक सोच र राजारजौटाको शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने वताउदै जनप्रतिनिधिहरु जनताको सेवकका रुपमा रहनुपर्ने धारणा राखे ।
कालीकोटको मात्र नभई सिंगो कर्णालीको विकासका लागि आफुले आर्थिक श्रोतको अभाव हुन नदिने वताउदै मुख्यमन्त्री शाहीले श्रोतको सदुपयोग र दिगो विकासमा ध्यान दिन आग्रह गरे । ‘जनतालाई उत्पादनमुलक काममा नजोडी समृद्धि प्राप्त हुदैन ।’ मुख्यमन्त्री शाहीले भने, ‘कृषि, उद्योग, पर्यटन, जडिवुटी लगायतका क्षेत्रमा उत्पादनमुलक योजना निर्माण गरेर काममा लाग्नुस् ।’
कर्णालीको योजनावद्ध विकासका लागि प्रदेश सरकारले योजना आयोग गठन गरिसकेको वताउदै मुख्यमन्त्री शाहीले नतिजामुखी र नमुना काम गर्ने अठोट व्यक्त गरे । प्रदेश योजना आयोगले प्रदेशको वहुआयामिक विकासको लागि अल्पकालीन र दिर्घकालीन योजना निर्माणको काम थालनी गरिसकेको वताउदै मुख्यमन्त्री शाहीले तिनवटै तहको सहकार्यमा कर्णालीको विकास अभियान अगाडि वढ्ने वताए ।
विकटता र गरिविले चिनिएको कर्णालीलाई सुन्दरता र सम्भावनाको कर्णालीको रुपमा परिचित गराउन वर्षको आरम्भमै प्रधानमन्त्रीलाई रारामा वोलाएको वताउदै मुख्यमन्त्री शाहीले कर्णालीको विकास केन्द्र सरकारको समेत प्राथमिकतामा रहेको वताए ।
सभामा वोल्दै स्थानीय तहका जनप्रतिनिधिहरुले कर्मचारी अभावको कारण आफुहरुलाई काम गर्न गाह्रो भएको गुनासो गरेका छन् । कर्मचारी आपुर्तीमा केन्द्र सरकारले उदासिनता देखाएको भन्दै जनप्रतिनिधिहरुले प्रदेश लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, राष्ट्रियसभा सदस्य जिवन वुढा, नरपति सुनार, प्रदेशसभा सदस्य कुर्मराज शाही र सोशीला शाही लगायतको उपस्थिति रहेको थियो ।






