Loading... आजः ११ भाद्र २०८३, बिहीबार । Thursday 27th August 2026

सुर्खेतमै खुल्यो चप्पल कारखाना

म्रसिर १४ सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ पातालगंगा सुर्खेतमा चप्पल उद्योग खुलेको छ । लामो समयसम्म वैदेशिक रोजगारमा रहेर विभिन्न अनुभव बटुल्दै स्वदेश फर्केका वीरेन्द्रनगर ९ का अमरबहादुर खड्काले उक्त कारखानाको सुरुवात गर्नुभएको हो ।

करिब ७ लाखको लगानीमा सुरुवात भएको उद्योगको शुभारम्भ गर्दै वडा नं ९ का अध्यक्ष सुरेश मानन्धरले अहिलेको समयमा धेरै यूवा शक्ति रोजगारकालागि वैदेशिक रोजगारीमा जाने बृद्धि भैरहेको अवस्थामा यूवा शक्तिले नै उद्योग खोलेर केही काम गर्न सकिन्छ भन्ने उदाहरणिय काममा गरेको भन्दै वडाले पनि सक्दो सहयोग गर्ने बचन दिए ।

शुभारम्भ कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष रत्नबहादुर बुढाले वेरोजगार यूवाहरुलाई विदेशिनबाट रोक्नकालागि स्थानीय सरकारले विभिन्न रोजगार मुलक योजनाहरु ल्याउनु पर्ने र त्यसकालागि आफूले वडाबाट रोजगारी दिनका लागि कार्यक्रम तर्जुमा गर्ने बताए ।

उद्योगी खड्का यस भन्दा अघि १० बर्ष सम्म वैदेशिक रोजगारमा थिए । विदेशी भूमिमा आफ्नो श्रमको कदर नहुनेभएपछि स्वदेशमा नै केही गर्ने उद्देश्यले इन्टरनेटको सहयोगमा उद्योगहरुकाबारेमा जानकारी लिँदा चप्पल उद्योगको शुरुवात गरेको खड्काले बताए । उद्योग संचालनसंगै अहिले आफूसहित ३ जनालाई रोजगारी दिएको बताएका खड्काले चप्पल उद्योगलाई प्रदेशकै नमूना उद्योगको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।