Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

अमरदीप क्याम्पसको छैठौँ बार्षिकोत्सव

सुर्खेत, १९ मंसिर ।
अमरदीप क्याम्पस नेवारे, चनौटे सुर्खेतको छैठौँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । त्रिभुन विश्वविद्यालयबाट सम्बन्धन प्राप्तगरी सञ्चालनमा रहेको सुर्खेतको एक मात्र सामुदायिक क्याम्पस अमरदीपको बार्षिकोत्सव बुधबार सम्पन्न भएको हो । बार्षिकोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य नवराज रावतले अबको शिक्षा प्राविधिक र रोजगारमूलक हुनुपर्ने बताए ।

सामुदायिक क्याम्पसहरुलाई विकास गर्नुपर्ने बताउँदै रावतले रावतले अमरदीप क्याम्पस पनि सामुदायिक क्याम्पस भएको हुँदा यसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्ला समन्वय समितिका सदस्य एवं क्याम्पस व्यवस्थापन समितिका सदस्य वीरसिं घर्तीले सामुदायिक क्याम्पसको विकासका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीवनारायण बञ्जाडेले औधोगिक विकासका लागि जनशक्ति महत्वपूर्ण भएको बताउँदै क्याम्पसको प्रगतिको कामना व्यक्त गरे । वडा नं. १२ का अध्यक्ष लोकप्रसाद चालिसेले सामुदायिक क्याम्पसको विकास र प्रगतिका लागि समुदायका मानिसहरु प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा क्याम्पस प्रुमख देवि बस्याल तिवारीले क्याम्पसको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै भावी योजनाहरु प्रस्तुत गरेकी छन् । क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गर्ने, क्याम्पसका लागि जग्गा व्यवस्था गर्ने, पुस्तकालयका भवनको व्यवस्था गर्ने, विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था गर्न सरोकारवालासंग समन्वय गरी कोष स्थापना गर्ने लगायतका योजना रहेको क्याम्पस प्रमुख बस्यालले कार्यक्रममा पेश गरेकी छन् ।

उनका अनुसार हाल क्याम्पसले हाल कक्षा १२ मा ३.२ देखि माथि सीजीपिए प्राप्त गरेका विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति, २.४ देखि माथि ल्याएकालाई भर्ना शुल्क मिनाह र २ देखि माथि सिजिपिए प्राप्त गरेका विद्यार्थीहरुलाई भर्ना शुल्कमा ५० प्रतिशत छुट गरेको छ । यस्तै १० जनाको समूहमा भर्ना हुन आउने विद्यार्थीहरुलाई १० प्रतिशत छुट गर्ने गरिएको पनि क्याम्पस प्रुमख बस्यालले बताइन् । बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बक्तृत्वकला, हाजिरी जवाफ, ब्याटमिण्टन र भलिबल प्रतियोगितामा विजयी हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीले विभन्न साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।

बार्षिकोत्सवकै अवसरमा राष्ट्रिय वाणिज्य बैंकमा नाम निकाल्न सफल पूर्व विद्यार्थी प्रभा अधिकारीलाई सम्मान समेत गरिएको छ । विभिन्न समाजसेवीहरुको उपस्थिति रहेको बार्षिकोत्सव क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष आचार्यले सामुदायिक क्याम्पस भएकाले नीजि क्याम्पसहरु भन्दा सस्तो र गुणस्तरीय शिक्षा दिइरहेको बताउँदै यसबाट सम्पूर्ण विद्यार्थी र अभिभावकहरुले लाभ लिने सक्ने बताए । क्याम्पसको विकासका लागि सहयोग गर्न पनि उनले सरोकारवाला पक्षहरुलाई अनुरोध गरेका छन् ।