महासंघको २३ औं साधारण सभा सम्पन्न
सुर्खेत, २० मंसिर ।
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन सत्रमा सुर्खेतका चार जना पत्रकार पुरस्कृत भएका छन ।

पत्रकार महासंघ शाखा सुर्खेतले हरेक वर्ष प्रदान गर्दै आएको बर्ष पत्रकारीता पुरस्कार नागरिक दैनिकका कर्णाली प्रदेश व्युरो प्रमुख नगेन्द्र उपाध्यायलाई प्रदान गरिएको छ । यसैगरी खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कार इश्वर अधिकारीलाई प्रदान गरिएको छ भने शान्ति पत्रकारिता पुरस्कार धर्मराज जिसी र बिमला खड्कालाई प्रदान गरिएको छ ।

उहाँहरुलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पुरस्कार प्रदान गर्नुभएको हो । कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रदेशमा रहेका संचार माध्यम र क्रियाशिल संचारकर्मीको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पत्रकारले समाज निर्माणका लागि खेलेको भूमिका अतुलनीय रहेको बताउनु भएको छ ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माले आर्थिक प्रतिवेदन तथा सचिव सुदीप परीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सुर्खेतका अग्रज पत्रकार टंक भट्टराईलाई सम्मान गरिएको थियो ।






