Loading... आजः २६ जेष्ठ २०८३, मंगलवार । Tuesday 9th June 2026
ताजा खबर
  

गोरीका हत्यारालाई ३२ वर्ष जेल सजाय

पौष २ सुर्खेत ।
सुर्खेतको पञ्चपुरीकी गोरीकलाको हत्यामा संलग्न तीन जनालाई ३२ वर्ष जेल सजायको फैसला भएको छ । । गौरीकलाको २०७४ साल चैत १३ गते साँझ हत्या गरिएको थियो । उक्त मुद्दा अदालतमा २०७५ साल बैशाख ९ गते दर्ता भएको थियो भने आरोपितलाई अदालतले वैशाख ११ गते पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको थियो । सुर्खेत अदालतका जिल्ला न्यायाधीस ध्रुवकुमार शाहीको इजलासले उक्त मुद्दाको फैसला गरेको हो ।

पश्चिम बाबीयाचौरमा एसईई दिन आएकी १८ वर्षीया छात्रा गौरीकला रोकायको बलात्कारपछि हत्या गरेको भन्दै सुर्खेत जिल्ला अदालतले गत मंसिर २३ गते घटनामा संलग्न रहेका ट्राफिक प्रहरी हरिप्रसाद कोइरालासहित, स्थानीय लक्ष्मी प्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई ३२ वर्षको जेल सजाय तोकेको छ ।

छात्रा रोकाय सुर्यप्रकाश मावि पलैंटेमा अध्ययन गदर्थिन् भने एसईई परीक्षा दिन उनी विद्याज्योति मावि बाबियाचौर आएकी थिइन् । घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजेका थिए ।
उनी कोठामै मृत अवस्थामा फेला परेकी थिइन् । सोही मुद्दामा अदालतले हत्या गरेको ठहर गरेर जन्म कैंद र बलात्कार गरेको ठहर गरेर थप १२ वर्ष जेल सजाय सुनाएको जिल्ला अदालत सुर्खेतका रजिष्ट्रार भुपाल भण्डारीले जानकारी दिए ।

न्यायाधीस शाहले सुनाएको फैसलामा उनीहरु दोषी देखिएको बताउँदै झण्डै ३२ वर्षको जेल सजाय तोकिएको छ । फैसला पुरानो मुलुकी ऐन अन्तर्गत भएको हो । प्रतिवादी तीनै जनालाई मुलुकी ऐन ज्यान सम्वन्धी महल १ र १३(३) नम्बर अनुसारको कसुर पुष्टि हुन आएकोले नीजहरुलाई सोही महलको सोही नम्बर अनुसार जन्मकैदको सजाय हुने र नीजहरुले जर्बजस्ती करणीको कसुरसमेत गरेकोले, मुलुकी जर्बजस्ति करणीको महलको ३ (४), ३ क नम्बर अनुसार सात वर्ष कैद र थप पाँच वर्ष कैद सजाय र मृतकका हकवालाले प्रतिवादीहरुबाट सोही महलको १० नम्बर बमोजिम एक लाख रुपैयाँ क्षतिपुर्तीसमेत भराई लिन पाउने फैसलामा उल्लेख छ ।