काममा फर्के एमयूका रजिष्टार डा. मल्ल
पौष ५ सुर्खेत |
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्टार डा. महेन्द्रकुमार मल्ल आफ्नो काममा फर्केका छन् । सर्वाेच्च अदालतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र मल्ललाई गरेको निलम्बन रोक्न अन्तरिम आदेश दिएपछि उनी विश्वविद्यालयमा फर्केका हुन् । सर्वाेच्चका न्यायाधीस डम्बर बहादुर शाहीको एकल इजलासले यस्तो फैसला गरेको हो । गत मंसिर २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले रजिष्ट्रार मल्ललाई निलम्बन गर्ने निर्णय गरेका थिए । सोही दिन रजिष्ट्रारमा यामबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय पनि गरिएको थियो । तर रजिष्टार डा. मल्लले आफ्नो पदीय मर्यादा माथि आँच आउने गरी गरेको निर्णयको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

रजिष्टार डा. मल्लले आफ्नो पदीय मर्यादा एवम् व्यक्तिगत भावनामा आँच आउने कार्य गरेकोमा आफू न्यायलयको ढोकामा पुग्नु परेको र न्यायलयले आफूलाई न्याय दिएको बताएका छन् । उनले भने, ‘विश्वविद्यालय निर्माणदेखिको सुर्खेती जनताको मिहेनत र लगानीलाई कसैले भूल्न सक्दैन । सुर्खेती जनताले विश्वविद्यालय स्थापनाका लागि गरेको योगदानको कदर गर्न आफू सधैँ तत्पर रहेको र विश्वविद्यालयको हितका लागि कार्य गर्दा गर्दै शक्ति र सत्ताको आडमा आफूलाई हटाएर विश्वविद्यालयमा रजाई गर्ने योजना बनाउनेहरुले नीति र विधि विपरित कार्य गरेका छन् ।’ उनले भने, ‘विद्यार्थी माथि लगाइएका झुट्ठा मुद्दा तत्काल फिर्ता हुनु पर्छ नत्र आफैले त्यसको पहल गरेर विद्यार्थीका पक्षमा काम गर्न तयार छु ।’






