अक्षयकोषका लागि ५० हजारको चेक हस्तान्तरण
माघ १० सुर्खेत ।
जनजागृती माध्यमिक विद्यालय तोस्रा चौकुने ५ को २७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त अभिभावक दिवसको अवसरमा समाजसेवी कविराम पुरीले विद्यालयले संचालन गर्ने गरी एक अक्षयकोष स्थापनाका लागि रु. ५० हजारको चेक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशचन्द्र थापालाई हन्तान्तरण गर्नुभएको छ ।

विद्यालयको अभिभावक दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अब भाषण होइन काम गर्ने समय आएकोले आफूहरु काम गर्न तर्फ जुटिरहेको बताउनु भयो । सुर्खेतको पश्चिमी क्षेत्रमा गर्नु पर्ने विकासका कार्यहरुलाई अगाडि बढाउने कुरा उल्लेख गर्दै मुख्यमन्त्री शाहीले गरिबी र अशिक्षासँग लड्दै काम गरेर देखाउने बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि समाजसेवी तथा युवा राजनीतिज्ञ कविराम पुरीले राष्ट्रियता कमजोर हुँदै गइरहेको अवस्थामा धार्मिक रुपमा समेत खलल पर्ने खालका कार्यहरु भइरहेकोमा आपत्ति प्रकट गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘राजनीतिक परिवर्तन भएको ३० वर्ष बितिसक्दा पनि पुरानै संरचनामा गुजारा गर्नु परिरहेको छ । जसका कारण जनताको जीवनस्तर माथि उठ्न सकेको छैन । सुशासन र विधिको शासन नभएकोले जनताले शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छैनन् ।’ उहाँले थप्नुभयो, ‘अब प्रदेश सरकारले यसको जिम्मेवारी बोध गर्न आवश्यक छ ।’ स्थानीयस्तरदेखि प्रादेशिक संरचनासम्मका विकासको दायित्व प्रदेश सरकारको भएकोले त्यसको अनुभूति हुने गरी काम गर्न सुझाउँदै पुरीले भन्नुभयो, ‘जनताका अपेक्षा पूरा गर्न नसकेमा अर्को निर्वाचनमा जनताले स्पष्ट फैसला गर्नेछन् ।’

कार्यक्रममा प्रतिनिधि सभा सदस्य नवराज रावत, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती, कर्णाली प्रदेश सदस्य पदमा खड्का, विन्दमान विष्ट, सीता नेपाली, शिक्षक, विद्यार्थी, अभिभावक, राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशचन्द्र थापाको अध्यक्षतामा भएको थियो ।








