Loading... आजः २० बैशाख २०८३, आईतवार । Sunday 3rd May 2026
ताजा खबर
  

साठी घरधुरीको एउटै शौचालय

 माघ १२ जुम्ला |

चन्दननाथ नगरपालिका–५ कामीटोलका ६० घरधुरीले एउटै शौचालय प्रयोग गर्ने गरेका छन् । नगरपालिकाले निर्माण गरेको शौचालयले मात्र उनीहरुलाई पर्याप्त भएको छैन् ।

Image result for शौचालय
स्केच : गुगलबाट

उक्त बस्तीमा बस्ने घरबाहेक अन्य शौचालय निर्माण गर्ने जमीन नभएका कारण सामूहिक शौचालय प्रयोग गर्न बाध्य भएका हुन् । स्थानीय ज्ञानबहादुर विकको परिवारलाई हरेक दिन बेलुका सुतिसकेपछि भोलि बिहानको कामभन्दा पहिले शौच गर्ने चिन्ता हुने गर्दछ । ज्ञानबहादुरले भन्नुभयो, “घरमा शौचालय छैन, खुला शौच गर्न पाइँदैन । टोलमा भएको एउटै शौचालयमा जो पहिले पुग्यो, त्यसैले शौच गर्न पाइन्छ ।” “शौच गर्नकै लागि बिहानै उठ्नुपर्छ, आफूलाई शौच लागेको बेला शौचालयमा हुलहुन्छ, घरमा शौचालय बनाउने जग्गा पनि छैन उहाँले गुनासो गर्नुभयो ।”

ज्ञानबहादुर जस्तै सदरमुकाममा अवस्थित कामीटोल टोलका ६० घरपरिवारले विगत धेरै वर्षयता एउटै शौचालय प्रयोग गर्दै आएका छन् । सबै टोलवासीले एउटै शौचालय प्रयोग गर्दा घण्टौँ लामबद्ध बस्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय चन्द्रलाल सुनारले बताउनुभयो । दलित समुदायको बाहुल्य रहेको उक्त टोलका स्थानीयले एउटै सार्वजनिक शौचालय प्रयोग गर्दै आएपछि यस्तो समस्या भोग्नुपरेको हो ।

कामीटोलका दलित समुदायले भोग्दै आएको शौच गर्ने समस्या समाधानका लागि चन्दननाथ नगरपालिकाको सहयोगमा आधुनिक शौचालय निर्माण गरिएको छ । वडाध्यक्ष अर्जुनसिंह कठायतका अनुसार रु १० लाख लागतमा निर्माण हुने आधुनिक शौचालयमा सोलार, विद्युत्, चिसोतातो नुहाउने पानीसहित आवश्यक सामग्रीका साथ महिला, पुरुष छुट्टाछुट्टै अपाङ्ग र बालमैत्री शौचालय निर्माण गरिएको छ । दुईतलामा निर्माण शौचालय माथिल्लो छ कोठा शौच गर्नका लागि र तल्लो तलामा व्यापारिक प्रयोजनका लागि प्रयोग हुन्छन् ।

शौचालय निर्माण सम्पन्नपछि चौकीदारको व्यवस्था गरिएको छ । सोही टोलका ६० घरधुरीले निःशुल्क र अन्यले न्यूनतम शुल्कमा शौच गर्छन्, उहाँले भन्नुभयो । शौचालय चन्दननाथ गुठीको नाममा रहेको सार्वजनिकजग्गामा निर्माण गरिएको छ ।

(रासस)