Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

सुरक्षाका लागि बजेट बिनियोजन आवश्यक : डिआइजी शाह

माघ १९ सुर्खेत ।

स्थानीय तहको सुरक्षालाई चुस्त र दुरुस्त राख्नका लागि स्थानीय तहले बजेन बिनियोजन गर्न आवश्यक रहेको बताइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सुर्खेतका स्थानीय तहका प्रमुखहरुसँगको एक कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेशबिक्रम शाहले यस्तो बताउनु भएको हो ।

कर्णाली प्रदेशमा भएका विभिन्न घटनाहरुको समेत जानकारी गराउँदै डिआइजी शाहले कर्णाली प्रदेशमा हुने अपराध न्यूनिकरणका लागि स्थानीय तहले बजेट बिनियोजन गरेर अगाडि बढ्न शाहले सुझाउनु भयो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादब समेत सम्मिलित उक्त कार्यक्रममा सबै भन्दा बढि हरेलु हिंसाका घटनाहरु बढिरहेको प्रस्तुत तथ्याँकमा उल्लेख छ । आत्महत्या, चोरी, हातहतियार खरखजाना, बालविवाह, जबरजस्ती करणी, सवारी दुर्घटना, लागु औषध लगायतका घटनाहरु हुने गरेका छन् । त्यस्ता घटनाहरु न्यूनिकरण गर्नका लागि बजेटको आवश्यकता पर्ने भएकोले सबै स्थानीय जनप्रतिनिधि लगायत प्रदेश सरकारले समेत सुरक्षाका लागि बजेट बिनियोजन गर्न आवश्यक रहेको डिआइजी शाहको भनाई थियो ।


आफ्नो गाउँ वा नगरपालिकामा सुरक्षा व्यवस्थालाई कसरी चुस्त र दुरुस्त बनाउन सकिन्छ भन्ने बारेमा स्थानीय तह चनाखो भएको खण्डमा प्रहरीलाई सफलता मिल्ने उहाँले बताउनु भयो । कर्णाली प्रदेशका १० जिल्लाहरुमा भएका विभिन्न घटनाहरुको तथ्याँक हेर्ने हो भने सबै भन्दा बढि घटनाहरु सुर्खेतमा घटेको देखिन्छ । त्यसमा पनि घरेलु हिंसा नै अग्रस्थानमा रहेको प्रहरीको तथ्याँक छ । सुर्खेत जिल्लामा मात्र चालु आ.व. को कार्तिकसम्ममा १ सय ३९ वटा घरेलु हिंसाका घटनाहरु भएका छन् । कतिपय हिंसाहरु कानूनी उपचारसम्म नपुग्ने भएकोले यसको संख्या अझ धेरै हुन सक्ने अनुमान छ ।


प्रहरीले पक्राउ गर्दैमा मात्र घटनाहरु कम नहुने भएकोले सबै पालिकाहरु प्रविधि युक्त बनाउन सकेको खण्डमा सुरक्षा व्यवस्थालाई मजबुद बनाउन सहयोग मिल्ने डिआइजी शाहको भनाई थियो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जनघनत्वसँगै जोखिम पनि बढ्दै गइरहेको तथ्याँक देखिएकोले त्यसलाई नियन्त्रण गर्नका लागि शान्ति सुरक्षाको क्षेत्रमा समेत बजेटको आवश्यकता रहेको कार्यक्रमका सहभागीहरुले समेत स्वीकार गरेका छन् ।

पछिल्लो समयमा कर्णाली प्रदेशमा रहेका सबै कारागारमा पुस्तकालय निर्माण गर्ने अभियान समेत चलिररहेकोले यो सकारात्मक पक्ष भएको भन्दै स्थानीय जनप्रतिनिधिले आफ्नो तर्फबाट गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताएका छन् ।