लोकेन्द्रबहादुर चन्दका बाबु–छोराले नै छोडे कमल थापाको साथ
काठमाडौँ, १३ फागुन ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोड्ने भएका छन् । लोकेन्द्र राप्रपामा कमल थापापछि दोस्रो वरियतामा थिए ।

लोकेन्द्रका छोरासमेत रहेका पूर्वमन्त्री जयन्त चन्दसहित अन्य १८ जना वरिष्ठ नेताले थापा अध्यक्ष रहेको राप्रपा परित्याग गरेको घोषण गरेका हुन् ।
संगठन सुदृढिकरणका लागि राष्ट्रिय स्वाभिमान यात्रा सुरु हुनु चार दिन अघि नै चन्दसहितका वरिष्ठ नेताहरुले राप्रपाबाट अलग भएर राप्रपा(संयुक्त) मा प्रवेश गर्ने घोषणा गरेका छन् ।
राप्रपाबाट अलग भएको घोषणा गर्नेहरुको सूचीमा चन्दको नाम पहिलो नम्बरमा छ भने उनका बाबुको भने नाम उल्लेख गरिएको छैन् । स्रोतका अनुसार लोकेन्द्रलाई राप्रपा (संयुक्त) का अध्यक्षद्वयले स्वागत गर्ने कार्यक्रम रहेको छ । उनीहरुलाई १५ गते नै पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।
हटलाइनखबरसँग स्रोतले भन्यो, ‘पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि राप्रपा(संयुक्त) मा आउने निश्चित भइसकेको छ । १५ वा १६ गते कार्यक्रम नै गरेर पार्टी प्रवेश गर्ने कार्यक्रम छ । उहाँले राप्रपा संयुक्तलाई स्वागत गर्नुहुन्छ ।’
लोकेन्द्रसँगै पूर्वमहामन्त्रीसमेत रहेका जयन्त चन्द, सहायक महामन्त्री भरत पाठक, सहायक महामन्त्री केन्द्रीय सदस्य भरत गिरि, केन्द्रीय सदस्य प्रल्हाल साह, पूर्वमन्त्री दिनेश श्रेष्ठ, गोविन्द खनियाँले पनि पार्टी छाडेका छन् । सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, किसान संगठनको पूर्वसभापति गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि राप्रपा परित्याग गरेका छन् ।
राप्रपा परित्याग गरेको विज्ञप्ति निकाले उनीहरु आजै राप्रपा (संयुक्त) मा प्रवेश गर्ने कार्यक्रम थियो । तर, राप्रपा (संयुक्त) का अर्का अध्यक्ष पशुपतिशमशेर जबरा भारत गएकाले कार्यक्रम स्थगित भएको स्रोतले बतायो । जबरा लामो समयदेखि पायल्स रोगबाट पीडित रहेकाले नियमित उपचारका लागि भारत प्रस्थान गरेका हुन् । उनी १४ गते बेलुका काठमाण्डु फर्किने कार्यक्रम रहेको छ ।
हटलाइन खबरबाट






