Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

कारागारमा पुस्तकालय स्थापना, ज्ञान प्राप्त गर्न अध्ययन जरुरी : मुख्यमन्त्री

खगेन्द्र अधिकारी
चैत्र २३ सुर्खेत ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरू गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘कारागारलाई किताब’ अभियान समितिले कर्णाली प्रदेशका दश वटै जिल्लामा एक साथ पुस्तकालयको उद्घाटन गरेको छ । जस अन्तर्गत कर्णाली प्रदेशको राजधानी समेत रहेको जिल्ला सुर्खेत स्थित कारागारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एक समारोहका बीच पुस्तकालयको उद्घाटन गर्नुभएको छ ।


पुस्तकालयको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले ज्ञान प्राप्त अध्ययनको जरुरी रहेको बताउनु भएको छ । ‘विभिन्न कारणले जेलमा बसेकाहरुले जेलबाट निस्केपछि समाजमा सकारात्मक काम गर्न अभिप्रेरित गर्न सक्नु पर्छ जसका लागि अध्ययनको जरुरी छ । कारागारमा पुस्तकालयको स्थापना भएको छ यो समाज रुपान्तरणको नयाँ अभियान हो’ मुख्यमन्त्री शाहीको भनाई थियो ।


जान अञ्जानमा गल्ती गरेर कैदी बन्दी जीवन बिताइरहेकाहरुले आफ्नो जीवन परिवर्तन गर्न र जेलबाट बाहिर निस्केपछि सामाजिक रुपमा जीवन यापन गर्नका लागि अध्ययनको खाँचो भएको बताउँदै मुख्यमन्त्री शाहीले कारागारलाई किताब अभियान अन्तर्गत स्थापना भएको पुस्तकालयले त्यसलाई परिपूर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो । परिवर्तन एउटा क्षेत्रमा मात्र नभई हरेक क्षेत्रमा आवश्यक भएकोले अब कैदी बन्दी जीवन विताइरहेकाहरु पनि परिवर्तन हुन आवश्यक रहेको उहाँको भनाई थियो । मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘शान्ति र सु–व्यवस्था स्थापनाका लागि अध्ययन आवश्यक हुन्छ र अध्ययनले मान्छेलाई मान्छे बन्न सिकाउँछ । तर त्यसका लागि सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्दछ ।’ अध्ययन सुन्न र सुनाउनका लागि मात्र नभई जीवन र व्यवहारमा प्रयोग गर्नका लागि हुनु पर्ने मुख्यमन्त्री शाहीको भनाई थियो । कारागारमा बस्नेहरुका लागि सीपमुलक तालिमको व्यवस्थापन गरिने र त्यसबाट उत्पादित बस्तुको बजारिकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री शाहीले बताउनु भयो ।


पुस्तकालय उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कारागारलाई किताब अभियान रचनात्मक कार्यको शुरुवात भएको बताउनु भयो । आउँदा दिनहरुमा समेत पुस्तक थप्ने कार्यलाई निरन्तरता दिने बताउँदै मन्त्री रावलले बन्दी जीवनमा सीप सिक्नु पर्ने र कारागारबाट बाहिर गइसकेपछि त्यही सीप प्रयोग गरेर जीविकोपार्जन गर्न सहज हुने खालका तालिमहरुको व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको बताउनु भयो ।


कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले कारागारलाई सुधारगृह बनाउन धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी शाहले शुरु गर्नुभएको कारागारलाई किताब अभियानलाई देशव्यापी रुपमा संचालन गर्न जरुरी छ ।’


कार्यक्रममा साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले काठमाडौमा रहेको केन्द्रिय कारागार बाहेक अन्य कारागारहरुमा पुस्तकालय नरहेको अवस्थामा कर्णाली प्रदेशका दश वटै जिल्लामा रहेका कारागारहरुमा पुस्तकालय स्थापना गर्नु उदाहरणीय कार्य भएको बताउनु भयो । जेललाई उद्योगको रुपमा स्थापना गर्न सके कैदीको जीवन परिवर्तन हुने उहाँको भनाई थियो ।


कारागारलाई किताब अभियानका संयोजक, कथाकार एवम् कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेश बिक्रम शाहले जुम्लाका एक जना कैदीले किताब बढ्ने इच्छा व्यक्त गरेसँगै कर्णालीका प्रत्येक कारागारमा पुस्तकालय स्थापना गर्ने सपना देखेको बताउँदै यस अभियानमा साथ र सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्नुभयो । उहाँले कैदी बन्दीहरु तर्फ अंकित गर्दै भन्नुभयो, ‘जीवनमा घटेको दुर्भाग्यपूर्ण घटनाले बन्दी जीवन व्यतित गर्न बाध्य बनायो त्यो बिर्सेर बाँकी जीवनलाई उपलब्धिपूर्ण बनाउन लागि पर्नुहोस् ।’ कारागारमै पुस्तकालयको स्थापना भएकोले ज्ञानको अभावमा भौतारिनु पर्ने समस्या हटेको बताउँदै अभियान्ता शाहले भन्नुभयो, ‘कर्णाली प्रदेशका सबै कारागारहरुमा बुक क्लब समेत गठन भएको छ । प्रत्येक शनिबार बुक क्लब मार्फत आफूले अध्ययन गरेका पुस्तकका बारेमा चर्चा परिचर्चा गरेर ज्ञान बाँड्नु होला ।’


कर्णाली प्रदेशमा अबका दिनमा निर्माण हुने कारागारमा पुस्तकालयका लागि भौतिक संरचनाको व्यवस्था गर्न कर्णाली प्रदेश सरकारलाई आग्रह गर्दै संयोजक शाहले कारागारमा स्थापना भएको पुस्तकालयले कैदीबन्दीको जीवनमा परिवर्तन आउने विश्वास व्यक्त गर्नु भयो ।

गलत साथ र संगतले कैदी बनायो, अध्ययनले परिवर्तन गर्नेछ, खानेपानीको व्यवस्था गरिदिनुहोस् : कैदीबन्दी

कारागारलाई किताब अभियान अन्तर्गत पुस्तकालयको उद्घाटन कार्यक्रममा बोल्दै एक जना कैदीबन्दीले गलत संगतको कारण कारागारमा बस्नु पर्ने अवस्थाको सिर्जना भएको बताउँदै भन्नुभयो, ज्ञान हासिल गर्नका लागि किताब ल्याईदिनु भयो अब पिउने पानीको समेतत व्यवस्था गरिदिनु होस् । पूर्पक्षका लागि थुनामा रहेकाहरुका लागि छिटो र छरितो ढंगले न्याय सम्पादन हुन सकेको खण्डमा निर्दोषीहरु कारागारमा बस्नु पर्ने थिएन भन्दै कैदीहरुले भोग्नु परेको अवस्था र जेलको व्यवस्थापनलाई सुधार गर्न अनुरोध गर्नुभयो ।

सबै कारागारहरुमा एकसाथ उद्घाटन

आज चैत्र २३ गते (शनिबार) विहान ७ बजे यस प्रदेशमा रहेको सबै कारागारहरुमा पुस्तकालयको उद्घाटन भएको आयोजक समितिले जनाएको छ । कर्णाली प्रदेशका सुर्खेत बाहेक अन्य जिल्लाहरुमा जिल्ला प्रहरी प्रमुखको उपसंयोजकत्वमा कारागारमा किताब अभियान समिति गठन गरिएको थियो ।

२१ लाख बढीका किताब संकलन

कर्णाली प्रदेशका सबै कारागारहरुमा २१ लाख बढि मूल्यका किताब संकलन भएका छन् । अभियानलाई सफल बनाउन गठित समिति र उपसमितिका माध्यमबाट ८ हजार ३ सय ८८ वटा विभिन्न विषयका पुस्तक संकलन भएका छन् । प्रदेश प्रहरी प्रमुखको संयोजकत्वमा गठित मूल समितिले ४ हजार २ सय ८२ पुस्तक संकलन गरेको छ भने जिल्लास्थित प्रदेश प्रहरी प्रमुखको संयोजकत्वमा गठित उपसमितिले ४ हजार १ सय ६ वटा पुस्तक संकलन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मूल समितिले संकलन गरेको पुस्तक ९ लाख ६८ हजार ६ सय ७५ रुपैयाँ बराबरका रहेका छन् भने उपसमितिले संकलन गरेका पुस्तक झण्डै १२ लाख रुपैयाँ बराबर रहेको पुस्तकालयको उद्घाटन कार्यक्रममा मूल समितिका उपसंयोजक सुशीला श्रेष्ठले जानकारी दिनुभयो ।

अभियानलाई सार्थक बनाउन पुस्तक संकलन अभियानका लागि विभिन्न ख्यातिप्राप्त लेखक तथा फाउण्डेशनहरूबाट पुस्तकहरू प्राप्त प्रदान गरेको संयोजक एवम् कर्णाली प्रदेशका डिआइजी महानिरीक्षक महेशविक्रम शाहले जानकारी दिनुभयो । प्रदेशस्थित विभिन्न कारागारमा रहेका कैदीहरूका लागि पुस्तकालय स्थापना गर्ने उद्देश्यसहित मंसिरबाट सुरू भएको ‘कारागारलाई किताब’ अभियानमा समिति र अन्य व्यक्तिहरूले भरपूर सहयोग गरेको डिआइजी शाहको भनाई छ ।


सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, कालीकोट जिल्लामा कारागारभित्रै पुस्तकालय स्थापना भएका छन् भने हुम्ला र मुगुमा भर्खरै निर्माण भएका कारागार भवन हस्तान्तरण नभएकाले हुम्लाको जिल्ला प्रशासनको कार्यालयभित्र र मुगुको जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना भएको छ ।

पुस्तकालयको उद्घाटन कार्यक्रममा विभिन्न जिल्लाहरूमा ख्याति प्राप्त लेखक तथा साहित्यकारहरूको पनि सहभागिता रहेको छ । जस अनुसार सुर्खेतमा वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ उपन्यासकार एवम् कथाकार नैनराज पाण्डे, कवि नवराज पराजुली आउनु भएको छ भने दैलेखमा निबन्धकार शेखर खरेल र उपन्यासकार तथा कथाकार कुमार नगरकोटी पुग्नु भएको छ ।

यस्तै, सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम (पश्चिम) मा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामा, जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालीकोटमा उपन्यासकार युग पाठक, जुम्लामा उपन्यासकार शिवानीसिंह थारु र डोल्पामा उपन्यासकार तथा कथाकार अमर न्यौपाने पुग्नु भएको कारागारलाई किताब अभियानका संयोजक डिआइजी शाहले जानकारी दिनुभएको छ ।

पुस्तकालय उद्घाटन कार्यक्रममा पुग्नु भएका लेखकहरू र कैदीबन्दीबीच पुस्तकका विषयमा अन्तक्रिया गर्ने कार्यक्रम समेत रहेको छ ।