Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

कर्मचारी समायोजनपछि कर्णालीमा कर्मचारी अभाव

बसन्त भण्डारी, सुर्खेत । निमार्ण भए देखि नै कर्मचारीको समस्या झेल्दै आएको कर्णाली प्रदेश सरकार केन्द्र सरकारले गरेको कर्मचारी समायोजन पछि झनै कर्मचारी अभावमा परेको छ । कर्णाली प्रदेशमा कर्मचारी समायोजन भएपछि कर्मचारीको अभावले बजेट कार्यन्वयनमा समेत चुनौती थपिएको सरकारले जानकारी दिएको छ । कर्मचारी अभावका कारणले नै आर्थिक बर्ष २०७५÷७६ को बजेट कार्यान्वय न्यून भएको सरकारको बुझाइ छ । कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको प्रथम ९ महिनामा १२ प्रतिशतमात्र बजेट खर्च भएको छ । कर्मचारीको अभावको कारण सरकारले गर्ने काममा धेरै असर परेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको भनाइ छ । केन्द्र सरकारले गरेका कर्मचारी समायोजनले कर्णालीका सबै क्षेत्रहरुमा कर्मचारीले भरिभराउ हुन्छ भन्ने आश भएपनि सोच अनुसार नभएको उनको भनाई छ । यस्तै कर्मचारीको अभाव र आवश्यक कानुनको अभावमा विकासे बजेट खर्च हुन नसकेको भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्रीलेको भनाइ छ ।

मन्त्रालयमा मात्र कर्मचारीको दरबन्दी
प्रदेश मन्त्रालयहरुमा हाल सामाजिक विकास मन्त्रालयमा ६८ जना कर्मचारीको दरवन्दी रहेको छ । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३३ जना, आर्थिक मामिला तथा योजना मन्त्रालय ४७ जना, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ३८ जना, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ३८ जना, भूभि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ३७ जना कर्मचारीहरुको दरबन्दी रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जानकारी दिएको छ । यस्तै प्रदेश सभा सचिवालयमा ३६ जना, प्रदेश लेखा नियन्त्रण कार्यालयमा २० जना, मुख्य न्याधिवक्ताको कार्यालयमा ११ र मुख्यमन्त्री कार्यालयमा ५२ जना कर्मचारीहरुको दरबन्दी भएपनि कर्मचारी समायोजन पछि कति कर्मचारी कुन मन्त्रालयमा आए कति गए भन्ने एकिन भैनसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिष्द कार्यालयका सुचना अधिकारी केशवप्रसाद उपाध्यायले जानकारी दिए । यसो त कर्णालीमा कति कर्मचारी आवश्यक छ त्यसको एकिन तथ्याङ्क नभएको प्रदेश सरकारको भनाई छ ।

३ सय १० कर्मचारी आए
कर्मचारी समायोजन पछि कर्णालीमा विभिन्न कार्यालयहरुमा गरी ३ सय १० कर्मचारीहरु आएका छन् । जसमा शिक्षा अधिकृत ७ जना, प्रशासन अधिकृत १८ जना, लेखा अधिकृत १७, विविध महिला विकास अधिकृत १, तथ्याङ्क अधिकृत १, प्रशासन सहायक अधिकृत (नासु) १ सय २४, प्रशासन सहायत स्तर (खरिदार) ३८, तथ्यांक सहायक ४, लेखापाल प्रशासनमा ७४ जना, कम्प्यूटर अपरेटर विविधमा ११, सह लेखापाल प्रशासनमा १५ जना कर्मचारीहरु समायोजन पछि आईसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिष्द कार्यालयले जानकारी दिएको छ ।
यस्तै स्वास्थ्य क्षेत्रहरु, पशु क्षेत्र, भेटेरेनरी लगायतका केहि प्राविधिक क्षेत्रहरुमा पनि कर्मचारीको वितरण भैसके पनि एकिन डाटा उपलब्ध भैनसकेको सुचना अधिकारी उपाध्याय को भनाई छ । समायोजन प्रकृया बाँकी नै रहेकाले हाल केहि कर्मचारीहरु एक ठाउँबाट अर्को ठाउँमा गएको र केही यथावत रुपमा काम गरिरहेको उनको भनाई छ । विशेष गरेर संघमा जाने कर्मचारीको जाने फिक्स भैनसकेकाले यथावत रहेर काम गरिरहेको उनको भनाई छ । समायोजन प्रकृया बाँकी नै रहेकाले सबै क्षेत्रका कर्मचारीहरु पनि केहि दिनमा नै आईपुग्ने उनले विश्वास व्यक्त गरे ।