Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

जयन्ती थापा प्रेरणाकी स्रोत : नगरप्रमुख सुवेदी

ज्येष्ठ २ सुर्खेत ।
अमेरिकाको भर्जिनया राज्यमा बस्दै आउनु भएकी सुर्खेती चेली समाजसेवी जयन्ती थापाले वीरेन्द्रनगर १० दीपनगरमा रहेको मंगलगढी प्रा. वि. मा अध्ययनरत छात्रछात्रहरुलाई झोला तथा शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।

झोला तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जयन्ती थापा प्रेरणाको स्रोत भएको बताउनु भयो । सहयोग गर्नका लागि धन भएर मात्र हुँदैन मन पनि आवश्यक हुन्छ भन्दै नगरप्रमुख सुवेदीले भन्नुभयो, ‘बालबालिकाको शिक्षाको गुणस्तरमा विकास गर्नका लागि अभिभावकहरु आफै सक्रिय हुन जरुरी छ ।’ ‘सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्नका लागि प्रत्येक घरपरिवार र प्रत्येक व्यक्तिले आ–आफ्नो दायित्व सम्झनु पर्दछ’ नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख सुवेदीको भनाई थियो । उहाँले भन्नुभयो, ‘स्थानीय तहले बजेट तथा नीति निर्माणको क्रममा बाटो निर्माणमा मात्र नभई शिक्षा, स्वास्थ्य, महिला, दलित तथा रोजगारीको क्षेत्रलाई पनि प्राथामिकता दिनु पर्दछ ।’ उक्त विदालयका लागि नगरपालिकाको तर्फबाट एक हजार लिटरको पिउने पानीको ट्याँङ्की उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दै सुवेदीले समाजसेवी थापालाई आभार व्यक्त गर्नुभयो ।

शैक्षिक सामग्री तथा झोला वितरण कार्यक्रममा बोल्दै जयन्ती थापाका पिता धर्मजंग थापाले भन्नुभयो, ‘जयन्तीको विशेष अभिरुची भनेको शिक्षामा थियो । आज भन्दा चार पाँच वर्ष अघिदेखि उनले समाजसेवामा हात बढाइरहेकी छिन् ।’ ‘कहिले कालिकोटका आगलागी पीडितहरुसँग, कहिले चितवन त कहिले वृद्धाश्रमका आमाबुबासँग अनि कहिले कैलाली पुग्ने जयन्ती कर्मथलो अमेरिकामा रहेपनि उनले थालेको समाजसेवाको कारण धेरै असाहय बालबालिकाहरुले शिक्षाको उज्यालो प्राप्त गरिरहेकोमा म गौरवान्वित भएको छु’ थापाको भनाई थियो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य लक्ष्मी वि.क., हरिमाया शर्मा, ललितनाथ योगी, ज्ञानु गैरेलगायतको उपस्थिति रहेको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य मनिकला सुनारको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक शान्ति ढकालले गर्नुभएको थियो ।

विद्यालय परिवारको तर्फबाट प्रधानाध्यापक शान्ति ढकालले सहयोगी जयन्ती थापालाई आभार व्यक्त गर्दै उज्जवल भविष्यको कामना गर्नुभएको थियो । कार्यक्रममा जयन्ती थापाका मातापितालाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।