छोराको जन्मदिनमा एक लाख बढीको अक्षयकोष
ज्येष्ठ ११ सुर्खेत ।
अमेरिकाको भर्निनियाँमा बस्ने सुर्खेती चेली जयन्ती थापाले आफ्नो छोरा जेशन चन्दको ७ औं जन्मदिनको अवसरमा एक लाख बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । सुर्खेतमा रहेको प्रशान्ति बृद्धाश्रममा उहाँले एक लाख एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

छोराको जन्मदिनको अवसरमा बृद्धाश्रममा अक्षयकोषको स्थापना गर्न पाउँदा आफूले असहाय बृद्धबृद्धाहरुलाई सहयोग गर्ने अवसर प्राप्त गरेको बताउनु भयो । समाजसेवा भनेको आफ्नो मनदेखि गर्नु पर्ने भएकोले आफूलाई कुनै कुराले पनि यसलाई नरोक्ने जयन्तीले क्वीकखबरलाई बताउनु भयो । अक्षयकोषको लागि चेक हस्तान्तरण गर्दै जयन्ती थापाका पिता धर्मजंग थापाले छोरीले गरेको समाजसेवाले आफूलाई सन्तुष्टि मिलेको बताउनु भयो । जयन्तीका पिता थापाले भन्नुभयो, ‘अमेरिका बसेर पनि सुर्खेतमा रहेको बृद्धाश्रमका लागि अक्षयकोषको स्थापना गरेर सहयोग गरेकोमा छोरीलाई धन्यवाद दिन्छु ।’ जहाँ अप्ठ्यारो पर्दछ त्यहाँ जयन्तीको मन पुग्ने भएकोले कहिले चितवन त कहिले कालिकोट अनि कहिले कैलालीमा रहेका असहाय, दुःखी, गरिब, तथा पीडितहरुलाई उनले सहयोग गरिरहेकी छिन् जसले आफूलाई खुसी लागेको उहाँको भनाई थियो ।

सुर्खेतमा रहेको प्रशान्ति बृद्धाश्रम देशकै नमुना बृद्धाश्रम भएको बताउँदै बृद्धाश्रमका अध्यक्ष बालकुष्ण श्रेष्ठले जयन्ती जस्ता मनकारीहरुको कारण बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुलाई सहज तरिकाले पालन पोषण गर्न सजिलो भएको बताउनु भयो ।
अक्षयकोषका लागि चेक हस्तान्तरण कार्यक्रममा केक काटेर जयन्तीका छोरा जेशनको जन्मदिन समेत मनाइएको थियो भने जयन्ती थापाका मातापितालाई समेत सम्मान गरिएको थियो ।
अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै माया थापाले भन्नुभयो, ‘जहाँ मानवता छटपटाइरहेको हुन्छ त्यहाँ जयन्तीको उपस्थिति हुने गर्दछ ।’
प्रशान्ति बृद्धाश्रममा ११ जना पुरुष र ११ जना महिला गरेर २२ जना बृद्धबृद्धाहरु आश्रित रहनुभएको छ । यस बृद्धाश्रममा ९ सय ९५ जना आजीवन सदस्य तथा ४५ जना अक्षयकोष स्थापना कर्ताहरुबाट ७३ लाख १० हजार १ सय ५ रुपैयाँको अक्षयकोष स्थापना भइसकेको भए पनि संस्थाले १ करोडको अक्षयकोष पु¥याउने लक्ष्य लिएको संस्थाका सदस्य भद्र भण्डारीले बताउनु भयो । आश्रममा २ जना स्याहार कर्ता र २ जना अन्य गरी ४ जना कर्मचारीहरु कार्यरत छन् ।

प्रत्येक शनिबार हुने भजन किर्तन कार्यक्रमले बृद्धबृद्धाहरुलाई मनोरञ्जनमा सहयोग गरेको भण्डारीले बताउनु भयो । यस भन्दा अगाडि जयन्तीले जागृती प्रा.वि पदमपुरमा १ लाख, अमरज्योति नमुना मावि नेवारेमा ३ लाखलगायतका अक्षयकोषहरु स्थापना गरिसक्नु भएको छ भने कैलाली, सुर्खेत, रुकुम, चितवन लगायतका जिल्लाका करिब एक दर्जन असहाय बालबालिकाहरुको पढाइको जिम्मा समेत लिनु भएको छ । कार्यक्रममा जयन्तीका माताा पार्वती थापालगायतको उपस्थिति रहेको थियो ।
यसै अवसरमा चन्द्र बहादुर सापकोटा आश्रमकको आजीवन सदस्य बन्नु भएको थियो । कार्यक्रम आश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठको सभापतित्वमा भएको थियो सहजीकरण सदस्य भद्र भण्डारीले गर्नुभएको थियो ।















