Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

राजनीतिले विकास र साहित्यले विवेक दिनुपर्छ : मन्त्री रावल

सुर्खेत १८ ज्येष्ठ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले राजनीतिले विकास र साहित्यले विवेक दिनुपर्ने बताउनु भएको छ । कर्णाली साहित्य समाजको आयोजनामा भएको स्रष्टा सम्मान एवम् विशेष रचनावाचन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री रावलले यस्तो बताउनु भएको हो ।


गौरवमय इतिहास बोकेको कर्णाली प्रदेशको कला, साहित्यले सिंगो राष्ट्रको विषयवस्तुलाई बोक्नु सक्नु पर्ने मन्त्री रावलको भनाई थियो । मन्त्री रावलले भन्नुभयो, ‘राजनीतिको सही मार्गनिर्देशक साहित्य हो ।’ आउँदो आर्थिक वर्षमा सिंजामा साहित्यिक महोत्सव गरेर कर्णाली प्रदेश सरकार साहित्यिक यात्राका लागि कोसेढुङ्गा बन्न तयार छ ।’ उहाँले थप्नुभयो,‘रचनात्मक र सकारात्मक रुपमा अघि बढे साहित्यले समाज परिवर्तन गर्न सक्छ भन्ने कुरामा विश्वस्त छु ।’

कर्णालीबाटै नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनको लागि सबैले आ–आफ्नो तह तप्काबाट हातेमालो गर्न जरुरी भएको मन्त्री रावलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कर्णालीलाई गरिब देख्नेहरुले कर्णालीको अन्तरमनलाई बुझ्न नसकेर मात्र हो । हामी भाषा, कला, संस्कृति, पुरातात्विक, ऐतिहासिक, जल, जमिन, जडिबुटी सबैमा धनी छौ ।

त्यसैले कर्णालीलाई गरिब देख्ने होइन समृद्ध बनाउने तर्फ लाग्न आवश्यक छ ।’ विविधतामा एकता भएको कर्णालीको भौगोलिक बनावटले पनि हामीलाई मिहिनेत गर्न सिकाएको बताउँदै मन्त्री रावलले भाषा, साहित्यको उन्नती र प्रगतिका लागि कर्णाली प्रदेश सरकार सदैव सकारात्मक रहेको बताउनु भयो ।


कर्णाली साहित्य समाजले संरक्षकको रुपमा कथाकार महेशविक्रम शाहलाई सम्मान गरेको छ । सम्मानित स्रष्टाको रुपमा बोल्दै कथाकार शाहले भन्नुभयो, ‘ कर्णालीको वाङ्मयको श्रीबृद्धि गर्नका लागि ठोस परिणाम आउने काम गर्न आवश्यक छ ।’ उहाँले थप्नुभयो, ‘कर्णाली साहित्य समाजको संस्थागत उत्थानका लागि आफ्नो तर्फबाट गर्नु पर्ने रचनात्मक कार्यमा सदैव लाग्ने प्रतिवद्धता जाहेर गर्दछु ।’ २०६३ को मदन पुरस्कार प्राप्त व्यक्तित्व महेश विक्रम शाहका ७ वटा कृतिहरु प्रकाशित भएका छन् । उहाँको ‘छापामारको छोरो’ नामक कृतिले मदन पुरस्कार प्राप्त गरेको हो ।


कर्णाली प्रदेश योजना आयोगका सदस्य समेत रहनु भएका साहित्यकार डा. दीपेन्द्र रोकाया, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष प्रा. डा. जीवेन्द्र देव गिरी र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायलाई कर्णाली साहित्य समाजले एउटै मञ्चमा सम्मान गरेको छ ।


शुभकामना मन्तव्यका क्रममा सम्मानित स्रष्टा डा. रोकायाले कर्णालीको सभ्यता जोगाउन आवश्यक भएको बताउँदै यथार्थ धरातलमा उभिएर नयाँ आयाम दिने आधार निर्माण गर्न सके साहित्यमार्फत कर्णालीको विकास गर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो,‘कर्णाली प्रदेशमा रहेको नकारात्मक तथ्याँकलाई मेटाउन निकै कसरत गर्नु आवश्यक छ । जसले गर्दा कर्णाली संसारको गन्तव्य बन्नसक्छ किनकी साहित्यको कुनै भौगोलिक सीमा हुँदैन ।’


विशेष रचनावाचन अन्तर्गत गजलकार विष्णु महतारा, सीता यरी, लीला पोख्रेल र सन्देश कठायतले गजल वाचन गर्नुभएको थियो भने कवि सुरेन्द्र अधिकारी, गणेश कञ्चन भारती र पहल असिम थापाले कविता वाचन गर्नुभएको थियो ।


कार्यक्रममा आर्थिक प्रायोजन गरी विशेष सहयोग गर्ने सुर्खेती चेली हाल अमेरिकामा रहनुहुने जयन्ती थापाप्रति आयोजक संस्थाले आभार व्यक्त गरेको थियो । कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका डीन खोपीराम लम्साल, वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतम, प्रलेश कर्णालीका सचिव हरिलाल महतारा, धिरेन थापा अनुपम, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, अछाम, जुम्ला, हुम्ला, सल्यान, रुकुम, दाङ, मुगु, बैतडीलगायतका जिल्लाका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।


संस्थाका उपाध्यक्ष देवकी तिमल्सिना ‘समीक्षा’ ले शब्द स्वागत गर्नुभएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ को अध्यक्षतामा भएको थियो भने सहजीकरण संस्थाका सचिव सरस्वती पन्तले गर्नुभएको थियो ।