प्रहरीको घेराबन्दीमा विश्वविद्यालयको वार्षिक उत्सव, विद्यार्थी नेताहरु हिरासतमा
असार ३ सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं वार्षिक उत्सवको उद्घाटन गर्नका लागि जब प्रमुख अतिथि कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल पानसमा दीप प्रज्वलन गर्ने तयारीमा हुनुहन्थ्यो तब कार्यक्रम हुने हल भित्रै जिन्दावाद र मुर्दावादको नारा लागेपछि प्रदेश प्रमुख दंग पर्नु भएको थियो । काठमाडौका नीजि कलेजहरुले सौजन्य गरेको टि–सर्टले विश्वविद्यालयको गरिमा माथि आँच पु¥याएको भन्दै विद्यार्थी संगठनहरुले संयुक्त विरोध प्रदर्शन गर्दा उक्त नाराहरु लागेका हुन् । विश्वविद्यालयको वार्षिक उत्सवको दिनमा समेत विद्यार्थीहरु नाराबाजीमा उत्रने अवस्थाको सिर्जना हुनु पक्कै पनि राम्रो संकेत भने होइन । झट्ट हेर्दा कुनै समयको संविधान सभाको हल जस्तै देखिने गरी कुर्सी फालाफालको स्थितिले विश्वविद्यालयको वार्षिक उत्सवको माहोल नै खलल भएको थियो ।

वार्षिक उत्सवमा शुभकामना मन्तव्य दिने क्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गा केशर खनालले विचारको आलोचना रचनात्मक हुनु पर्ने बताउनु भयो । नवौं वार्षिक उत्सवका अवसरमा प्रदेश प्रमुख खनालले भन्नुभयो, ‘विश्वविद्यालयमा भएका कमीकमजोरीहरुलाई गम्भीर ढंगले सोच्न जरुरी छ । विश्वविद्यालय नैतिक र इमान्दारहरुले संचालन गर्ने संस्था भएकोले यसबाट समाजले ठूलो अपेक्षा गरेको हुन्छ ।’ विश्वविद्यालयले विश्वको लागि योगदान दिन सक्नु पर्ने उहाँको भनाई थियो ।
प्रदेश प्रमुख दुर्गा केशर खनालले केन्द्रीय प्रशासनिक परिसरमा निर्मित चन्दादाता मोतिप्रसाद सापकोटाको अर्धकदको सालिक अनावरण गर्नुभएको थियो ।
वार्षिक उत्सव कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयले गरेका गतिविधिहरु प्रस्तुत गर्नु भएको थियो । प्रा.डा. कोइरालाले भन्नुभयो, ‘विश्वविद्यालयको चौतर्फी विकासका लागि लागिरहेका छौं । यसलाई अन्तर्राष्ट्रियकरणको शुरुवात गरेका छौ ।’

प्रहरीको घेराबन्दीमा विश्वविद्यालयको वार्षिक उत्सव : एक जना प्रहरी घाइते
मध्यपश्चिमाञ्चल विश्वविद्यालय बारम्बार विवादमा परिरहने संस्था हो । यस विश्वविद्यालयले आफ्नो नवौं वार्षिक उत्सव पनि प्रहरीको घेराबन्दीमा मनाएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरमा प्रायः जसो सुरक्षाकर्मीले ड्यूटी दिइरहेका हुन्छन् भने विश्वविद्यालयको वार्षिक उत्सवमा समेत सुर्खेत प्रहरीले ठूलो सुरक्षा दस्ताको चाँजोपाँजो मिलाउनु प¥यो ।

यति हुँदाहुँदै पनि विश्वविद्यालयमा अध्ययनरत विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त रुपमा आन्दोलन गर्नु पर्ने अवस्थाको सिर्जना भयो र उक्त आन्दोलनलाई नियन्त्रण गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान सुरेन्द्र महत घाइते हुनुभयो । काठमाडौंस्थित नीजि कलेजले प्रदान गरेका टि–सर्टहरु लगाएर उक्त नीजि कलेजको प्रचार प्रसार गरेको भन्दै टि–सर्टको प्रयोग नगर्न अनुरोध गर्ने विद्यार्थीहरु र प्रहरी बीच भएको झडपमा प्रहरी जवान महत घाइते हुनुभएको हो । घाइते प्रहरी जवानको कर्णाली प्रदेश असपताल सुर्खेतमा उपचार भइरहेको छ । विश्वविद्यालयका डीन, परीक्षा प्रमुखलगायतलाई विद्यार्थीहरुले गेटमै रोकेर टि–सर्ट फुकाल्न लगाएका थिए । यसैगरी विद्यार्थीहरुको आन्दोलनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले १३ जना विद्यार्थी नेताहरुलाई पक्राउ गरेको थियो । वार्षिक उत्सवकै दिन विद्यार्थी संगठनहरुका नेताहरु टि–सर्ट विरुद्धको आन्दोलनका कारण प्रहरीको हिरासतमा पुगेका थिए ।
विश्वविद्यालयको वार्षिक उत्सव जस्तो गरिमामय कार्यक्रममा आफ्नै टिसर्ट बनाउनु पर्नेमा कलेजहरुको प्रचार प्रसारले विश्वविद्यालयलाई व्यापारिकरण गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । अर्काको सौजन्यमा प्राप्त भएको टि–सर्ट नलगाई सबै विद्यार्थीहरु समावेश गरि भव्यताका साथ वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्न सकिने विकल्प हुँदाहँुदै पनि व्यवस्थापन पक्षले निरंकुशता लाद्नु गलत भएको विश्लेषकहरु बताउँछन् ।












