Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

तिखाकुना – राग, छाप्रे सडक अनुगमन

सुर्खेत
पञ्चपुरी नगरपालिका वडा नं. ९ को तिखाकुना राग विद्यापुर जाजुरादह छाप्रे सडक निर्माण उपभोक्त समितिद्वारा निर्माण गरिएको सडकको अनुगमन भएको छ । कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय सुर्खेतले संचालन गरेको उक्त आयोजनाको अनुगमन भएको हो । अनुगमनका क्रममा डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत भक्त बहादुर लामाले सडक निर्माणको कार्य सन्तोषजनक भएको बताउनु भयो ।

डिभिजन वन कार्यालयको तर्फबाट ४९ लाख ९९ हजार ९ सय ४० रुपैया १३ पैसा र जन सहभागीताबाट ८ लाख ४७ हजार ४ सय ८८ रुपैया गरेर कूल ५८ लाख ४७ हजार ३ सय ८८ रुपैया १३ पैसाको लागयतमा डेढ किलोमिटर कच्ची सडक निर्माण गर्नु पर्नेमा बान्द्रे खानेपान िमुहानदेखि जुकेपानी मुहानसम्म २ किलो मिटर सडक निर्माण गरेकोमा अनुगमन टोलीले खुसी व्यक्त गरेको थियो । अनुगमनमा क्रममा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले २०७६ असार १५ गते निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको उक्त आयोजना समयमा नै सम्पन्न भएकोमा उपभोक्ता समितिलाई धन्यवाद दिनु भएको थियो । उक्त सडकबाट ६ हजार ४ सय १४ जनसंख्या लाभान्वित हुने आयोजनामा देखाइएको छ ।


उक्त सडक सुर्खेतको प्रसिद्ध पर्यटकीय स्थल जाजुरादह पुग्नका लागि निर्माण गरिएको हो । उक्त सडकको कालोपत्र गर्न सकेको खण्डमा त्यस क्षेत्रमा रहेका तलपहरा झरना, मादलले गुफा, शितल गुफा, गुप्ती ताल, सभा गुफा, शिव गुफा, चमेरे गुफा, हात्तीसुँडे, बालुवागिट्टी खानी लगायतका स्थानमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उपभोक्ता समितिका अध्यक्ष भक्त प्रसाद घिमिरेले बताउनु भयो ।
योजना अनुगमनको क्रममा पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले उक्त सडकलाई पर्यटकीय सडकको रुपमा विकास विस्तार गरिने बताउनु भयो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्का, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायत डिभिजन वन कार्यालयका अधिकृतसमेतको सहभागीता रहेको थियो ।