Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

राखेपको सदस्य सचिवमा रमेश सिलवाल

काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद्(राखेप) को सदस्य सचिवमा गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाललाई बनाइने भएको छ।

स्रोतका अनुसार उनको नियुक्तिबारे हाल मन्त्रालयमा अन्तिम छलफल चलिरहेको छ। गत असार ९ गते केशबकुमार विष्टको कार्यकाल सकिएपछि राखेप सदस्यसचिव पद रिक्त थियो।

राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले पनि सिलवाललाई नयाँ सदस्यसचिवमा नियुक्तिका लागि अन्तिम छलफल भइरहेको बताए।

‘रमेश सिलवाललाई राखेपको सदस्य सदस्य नियुक्त गर्ने लगभग निश्चित भएको छ,’ उनले भने, ‘राखेप अन्तर्गतको कुनैपनि संघमा पदाधिकारी हुनुपर्ने व्यवस्थाका कारण कुन संघबाट प्रतिनिधित्व गराउँने विषयमा छलफल चलिरहेको छ।’

सिलवाल गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी विष्टको कार्यकालमा सरकारले गठन गरेको नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिका संयोजक थिए।

निर्वाचित क्यानलाई विघटन गरेपछि आइसिसीले क्यानमाथि प्रतिबन्ध लगाएको छ। जुन अहिले पनि कामय रहेको छ। सिलवाल क्यानका पूर्व उपाध्यक्ष पनि हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिलवालका निकट सम्बन्ध रहेको छ। हालको युवा संघ नेपाल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका रुपमा स्थापना हुँदा त्यसमा अध्यक्ष ओली थिए भने सिलवाल कार्यकारी सदस्य थिए।

सदस्य सचिव मन्त्रिस्तरीय निर्णय गरिने पद हो। सो पदका लागि नेकपाका खेलकुद सम्बन्धी जनवर्गीय संगठनले सह संयोजक शिव कोइराला ज्वालालाई अघि बढाएको थियो। कोइरालासँगै निवर्तमान सदस्य सचिव केशवबहादुर विष्ट, भलिबल संघका पूर्व अध्यक्ष दानबहादुर तामाङ पनि सदस्य सचिवको आकांक्षी थिए।

नेपाल खबर बाट