Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

निर्मला हत्याको एक : वर्ष अझै पत्ता लागेन अपराधि

कञ्चनपुर ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । पन्तको २०७५ साल साउन १० गते हत्या भएको थियो । हत्या भएको एक वर्षसम्म अपराधी पत्ता लाग्न सकेको छैन । अनुसन्धानकै क्रममा रहेको उक्त हत्या प्रकरणमा झण्डै एक सयभन्दा बढीको डीएनए परीक्षण भयो । तर, त्यसबाट हत्यारासम्बन्धी कुनै पनि सुराक पत्ता लाग्न सकेन । एक एक वर्षसम्म एउटा अपराधिको सुराक सम्म पत्ता लगाउन नसक्नु प्रशासनको ठूलो कमजोरी हो ।

एक वर्षको अवधीमा प्रहरीले कुनै उपलब्धि हासिल गर्न नसक्नुको पछाडि प्रहरीकै लाबरबाही भएको आरोप लाग्दै आएको छ । त्यसो त घटनास्थलको संरक्षणदेखि मुचुल्का, शिलबन्दी र अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको छ । सुरुमै गरेको त्रुटीले प्रहरीले अहिलेसम्म बलात्कार र हत्यारा सम्बन्धी कुनै पनि तथ्य फेला पार्न सकेको छैन । तथ्य र प्रमाणमा भन्दा पनि हल्ला र आशंकाको भरमा अनुसन्धान अगाडि बढ्नु नै प्रहरीको कमजोरी हो ।

कतिपय निर्दोषलाई पक्राउ गरेर अपराधीकै रुपमा प्रस्तुत गरियो । त्यति मात्रै होइन, पटक पटक मन्त्रीहरुले नै अपराधी पक्राउ परेको दाबी गरे । एक दुई दिनमै अपराधी सार्वजनिक हुन्छ भन्दै प्रतिबद्धता समेत जनाए । तर, पक्राउ परेका सबै निर्दोष सावित भए । र, अपराधी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका मन्त्रीहरु आफ्नै प्रतिबद्धतामा चुके ।

प्रहरीले अनुसन्धानका क्रममा प्रदिप रावल र विशाल चौधरीलाई काठमाण्डौसम्म पु¥यायो । प्रहरीकै दवाबमा अपराध स्वीकार्न लगाइए पनि अन्ततः डीएनए परीक्षणमा उनीहरु पनि निर्दाेष देखिए । घटनाको अनुसन्धानमा राज्यको जनशक्ति मात्रै होइन लगानी समेत खेर गयो । घटनाको अनुसन्धानका लागि अहिले पनि सीआईबी सहितको टोलीले जिल्लामा बसेर काम गरिरहेको छ । अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको र पुराना प्रमाणहरुलाई रुजु गर्ने काम भइरहेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश कुमार आचार्य बताउँछन् ।

पीडित परिवार र जनआक्रोशले बम दिदीबहिनीबाटै अनुसन्धान गर्न दवाब दिँदासमेत घटनाको एक महिनापछि मात्रै उनीहरुलाई नियन्त्रणमा लिइयो । यद्यपी अनुसन्धानका क्रममा कुनै संलग्नता नदेखिएपछि उनीहरु रिहा भए । निर्मला हराएकै दिन पीडित परिवारले बमको घरमा खोजतलासका लागि आग्रह गर्दा प्रहरीले आनाकानी गर्नु, शव भेटिएपछि बम दिदीबाहिनीलाई सोधपुछ तथा अनुसन्धानको दायरामा नल्याउनु प्रहरीको कमजोरी देखिन्छ ।

घटनाको गहिरो अनुसन्धान गरेर वास्तविक अपराधीलाई बाहिर ल्याउनुको साटो प्रहरीले नक्कली अपराधी खडा गर्यो । जसले गर्दा परिस्थितिले अर्कै रुप लियो । यसले प्रहरीलाई अनुसन्धानमा बाधा पुग्यो । हुन त मानसिक रुपमा अस्वस्थ दिलिपसिंह विष्टलाई अभियुक्त करार गर्ने प्रहरी अधिकृतमध्ये दुई जना बर्खास्त भएका छन् । तर, उनीहरुले किन यसो गरे ? भन्ने प्रश्नमा न प्रहरीले जवाफ दिन सकेको छ, न त सरकारले नै ।

निर्मलाको घटनामा पटक पटक गल्ती गर्दै गएको प्रहरीले हल्लाको पछाडि लागेर फेरि अर्को गल्ती ग¥यो । दिलिपसिंहलाई सार्वजनिक गरेसँगै बढेको जनआक्रोश र भिडको पछाडि लाग्दा प्रहरीले अनुसन्धानलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकेन । भिडले जे भन्यो, प्रहरीले त्यही गर्दै गयो । जनआक्रोशले डीएनएलाई ठोस प्रमाण मान्दै तत्कालीन एसपीसहितकोे डीएनए जाँच गर्न भनेपछि अहिले प्रहरीले पनि त्यसैलाई अनुसन्धानको प्रमुख आधार बनाएको छ ।

प्रमाण मेटेको आरोप लागेका प्रहरीमाथि कारबाही गर्न सकेको भए त्यसबाट घटना सम्बन्धी केही आधार फेला पर्ने धेरैको विश्वास थियो । तर त्यो पनि हुन सकेन । प्रमाण मेटेको आरोपमा ८ जना प्रहरी विरुद्ध उजुरी दिएकी निर्मलाकी आमा दुर्गादेवीले तीन महिनापछि उजुरी फिर्ता लिएपछि घटनाले नयाँ रुप लियो ।

घटनाको सुरुदेखि नै प्रहरीमाथि आशंका गर्दै आएकी दुर्गादेवीले एकाएक अदालतमा आफ्नो बयान फेर्नुको कारण मात्रै खोज्ने हो भने पनि अपराधी पत्ता लाग्ने आम बुझाइ छ ।

निर्मला हराएका बेला दुर्गादेवीलाई सहयोग गर्ने छिमेकीसँग अहिले उनको सम्बन्ध चिसिएको छ । अदालतमा प्रहरीको पक्षमा उभिंदै उनले डीएनए रिपोर्टमा निर्दोष सावित भएका दिलिपसिंह विष्टमाथि नै शंकाको सुई घुमाएपछि अहिले छिमेकी सबै रुष्ट भएका स्थानीय देवीदत्त भट्ट बताउछन् ।

एक वर्षसम्म हत्यारा पत्ता नलागेपछि पीडित परिवार अहिले आफ्नो दैनिकीमा फर्किएर घटनालाई भुल्ने प्रयास गरिरहेका छन् । अरु दुई छोरीको भविष्य हेर्दै दुर्गादेवीले राहत बुझेकी छन् । यसअघि, भारतबाट सामान बोकेर गुजारा गर्दै आएकी उनी निर्मलाको घटनापछि भने घरमै बस्दै आएकी छन् ।

एक महिनादेखि उनी भीमदत्त नगरपालिकाको महिला शाखामा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएकी छन् । नगरपालिकाले दैनिक ४ सय रुपैयाँका दरले डोरहाजिरमा काम दिएपछि नियमित काममा फर्किएर घटनालाई भुल्ने प्रयास गरिरहेको उनले बताइन ।