Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

विश्वविद्यालयमा बेथिति भयो : रजिष्ट्रार

सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ललाई विश्वविद्यालयको कामकाज नगर्नु भनि विश्वविद्यालयका कूलपति एवम् नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ मंसिर १९ गते पत्र पठाएसँगै रजिष्टार डा. महेन्द्रकुमार मल्ल छानविनमा परेका हुन् ।

छानविनमा परेपछि छानविन समिति गठन गरेर एक महिना भित्र छानविन प्रतिवेदन तयार गरि कूलपतिलाई बुझाउनु पर्ने र कूलपतिले विशेष सभा बोलाएर सभाबाट निर्णय गराउनु पर्ने प्रावधान रहेपनि उनी छानविनमा परेको झण्डै ९ महिना बितिसक्दा पनि कुनै सुनुवाई हुन सकेको छैन । आफ्नो कुनै सुनुवाई नभएको भन्दै विश्वविद्यालयले बेथिति गरेको छानविनमा रहेका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले बताएका छन् । उनले भने, ‘राज्यसत्ताको दुरुपयोग गरेर विश्वविद्यालय लक्ष्य प्राप्त गर्ने बाटोमा अगाडि बढ्न सक्दैन ।’

Image result for mid western university
छानविन समितिले प्रतिवेदन पेश गरिसकेपछि विशेष सभा बोलाउनु त कता हो कता नियमित सभामा समेत उक्त विषय पेश हुन नगर्नु कानून र विधिको ठाडो उलंघन गर्नु भएको बताउँदै डा. मल्लले थपे, ‘छानविनको अवधि एक महिनाको हुन्छ तर विधि, पद्धति र ऐनलाई स्वीकार गर्दै सभासम्म पर्खेर बसे तर त्यहाँपनि कूलपतिले नै ऐन नियमको उलंघन गरेपछि आम नागरिक समक्ष बोल्न बाध्य भएको छु ।’ कानून बमोजिम एक महिना भन्दा बढि निमित्तको भरमा काम गर्न नपाइने प्रावधान भएपनि विश्वविद्यालय ९ महिनादेखि निमित्त रजिष्ट्रारको भरमा संचालन भइरहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै डा. मल्लले आफूलाई पदसँग कुनै मोह नभएको भएपनि विश्वविद्यालय स्थापना गर्दादेखि आजका दिनसम्म मात्र होइन भविष्यमा यसप्रति आफूलाई चिन्ता रहेको बताए । विश्वविद्यालयले स्ववियूको निर्वाचन गर्न नसक्नु, अतिरिक्त क्रियाकलापको संचालन गर्न नसक्नु, भौतिक पूर्वाधारका कार्यहरु रोकिनु पदाधिकारीहरुको कमजोरी भएको बताउँदै विश्वविद्यालयले प्राप्त गर्ने जग्गाको सरकारी प्रक्रिया रोकिनुले भोलिका दिनमा विश्वविद्यालयको अवस्था कहाँ पुगेर रोकिने हो भन्ने चिन्ता गर्नु पर्ने अवस्था आइसकेकोले सचेत नागरिकहरुले विश्वविद्यालय बचाउन अभियान थाल्नु पर्ने समय आइसकेको डा. मल्लको भनाई थियो ।

विद्यार्थी, प्राध्यापक तथा पदाधिकारीका बीचमा सहकार्य समन्वय नभएकोले सुरक्षाको घेरामा विश्वविद्यालय संचालन गर्नु परिरहेको अवस्था छ । यो ज्यादै लज्जास्पद भएको बताउँदै विश्वविद्यालयको वार्षिक उत्सवमा विद्यार्थीलाई बाहिर राखेर सुरक्षा घेरामा कार्यक्रम गर्नु, काठमाडौंका नीजि कलेजका विज्ञापन गर्नु, विद्यार्थीहरु आन्दोलनमा होमिनु र विद्यार्थीलाई हिरासतमा राखेर वार्षिक उत्सव मनाउनुले पदाधिकारीहरुको छविमाथि नै प्रश्नचिन्ह लागेको बताइएको छ ।

पत्रकार सम्मेलनमा प्राध्यापक संघ संगठनका विभिन्न पदाधिकारीहरुले समेत आफ्नो भनाई राखेका थिए । गलत नियतको प्रयोग गरेर विश्विद्यालयको ऐन नियम र कानूनलाई मिचेर अगाडि बढ्नु झनै गलत भएको प्रचण्ड पोख्रेलले बताए । उनले भने, ‘कुनै पनि व्यक्तिलाई नीति विपरित चल्ने अधिकार छैन यदि कोहीले शक्तिका आडमा त्यस्तो हर्कत गर्छ भने जनताको शक्तिले त्यसलाई पाखा लगाउने छ ।’

नागरिक समाज, चन्दादाताहरुको बेवास्ता गर्दै कोही पनि विश्वविद्यालयको कानून भन्दा माथि जान नसक्ने राजेश गौतमको भनाई थियो ।

प्राध्यापक समाज नेपालका टीकाप्रसाद पोखरेलले व्यक्तिगत आग्रह र पूर्वाग्रह राखेर, राजनैतिक भागबण्डाका आधारमा विश्वविद्यालय चल्न नसक्ने बताउँदै दक्ष, अनुभवि तथा कार्यक्षमताको आधारमा नभई राजनैतिक रंगका आधारमा दिएका नियुक्तीले विश्वविद्यालयको भविष्य निर्माण नहुने बताए । राजनैतिक आस्था र भिन्नता माथि प्रहार गर्नु बिडम्बना भएको पोखरेलको भनाई थियो ।

आर्थिक रुपमा अनियमितता भएकोले थिलोथिलो भएको विश्वविद्यालयलाई चलाएमान बनाउन मरिमेट्ने रजिष्ट्रारलाई आफ्नो र पार्टीको स्वार्थका लागि विधि र विधान विपरित आधारहिन तरिकाले हटाउने र प्राज्ञिक थलोमा बेथिति मच्चाउनेहरुलाई इतिहासले समेत माफी नदिने बताउँदै प्राजातान्त्रिक प्राध्यापक संघका रुपेश खत्रीले विद्यार्थी, समाज र विधिलाई ध्यानमा राखेर आफूहरुले खबरदारी गरिरहेको बताए । उनले भने, विश्वविद्यालयमा भएको बेथितिको अन्त्य गर्न आवश्यक छ ।’ ऐन नियमको बेवास्ता गर्दै अगाडि बढ्न खोजियो भने विश्वविद्यालय दुर्घटनामा पर्ने भएकोले हिजो यसको स्थापना गर्दा जति दुःख गरियो यसको संरक्षणका लागि पनि त्यत्तिकै दुःख गर्नु पर्ने समय आइसकेको खत्रीको भनाई थियो ।