बाढी प्रभावित क्षेत्रमा पिउस वितरण
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका अन्र्तगतका बाढी प्रभावित स्थानमा पिउस वितरण गरिएको छ । वातावरण र जनस्वास्थ्य संस्था(एन्फो)ले पिउस वितरण गरेको छ । नगरपालिकाका २, ९ र १० नं. वडाहरुमा एन्फोले नगरपालिका तथा वडाहरुको समन्वयमा शनिबार र आईतबार पियुस (क्लोरिन) वितरण गरेको हो ।

पिउस वितरण कार्यक्रममा वडा नं. १० का वडाअध्यक्ष रत्नबहादुर बुढाले भने, जीवन सबै भन्दा महत्वपूर्ण भएकोले सबैले स्वास्थ्यको ख्याल गर्नु । समस्याहरु आउँछन् तर तिनीहरुलाई समाधान गर्दै अगाडि बढ्नु पर्ने भएकोले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न उनले अनुरोध गरे ।

वडामा डुवानका कारण पानीका मुहानहरु दुषित भएको तथा पानीमा दिशामा पाइने जिवाणुहरु हुन सक्ने भएकाले पियुस (क्लोरिन झोल) वितरण गरिएको संस्थाका परियोजना संयोजक अनिल मर्हजनले बताए । उनले भने, ‘पियुस वितरणका साथै पानी शुद्विकरण गर्ने विधिहरुका वारेमा समेत जानकारी दिएका छौ ।’ डुवान परेको क्षेत्रका नागरिकलाई पानी उमाल्ने विधि, क्लोरिन हाल्ने, फिल्टर गर्ने, सोडिस गर्ने सम्वन्धी जानकारी दिएको उनले बताए ।






