Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

कति प्रभावकारी ? अख्तियारको सामुदायिक शिक्षा कार्यक्रम

सुर्खेत ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले आ.व. २०७५/०७६ मा सामुदायिक शिक्षा कार्यक्रमलाई विशेष जोड दियो । अख्तियारको दुरुपयोग गर्नु हुँदैन र यसको दुरुपयोग गरेमा हुने समस्यादेखि आइपर्ने अवस्था र भोग्नु पर्ने कानूनी व्यवस्थाका बारेमा जानकारी दिने उद्देश्यले यस्तो कार्यक्रम गरिएको अख्तियारले जनाएको छ । अख्तियारले प्रदान गरेको सामुदायिक शिक्षा कार्यक्रमको प्रभावकारी बनेको सरोकारवालाहरुको भनाई छ ।

Image result for akhatiyar surkhet

भनिन्छ, काँचो माटोले जसरी निर्माण ग¥यो त्यस्तै आकार लिन्छ । अख्तियारले दिएको सामुदायिक शिक्षा कार्यक्रम लिनेहरुमा अधिकांश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु रहेको पाइएको छ । कर्णाली प्रदेशका १० जिल्लाहरुमा कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले सूर्यज्योति माध्यमिक विद्यालय मेहेलकुना सुर्खेतमा रहेका १ सय ३ जनालाई सामुदायिक शिक्षा दिएको थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको ल क्याम्पसमा रहेको ३७ जनाले यो शिक्षा प्राप्त गरेका छन् ।

मालिका माध्यमिक विद्यालय गुराँस गाउँपालिका दैलेखमा १ सय १ जनाले सामुदायिक शिक्षा कार्यक्रम प्राप्त गरे । जीवन ज्योति मावि गुटु सुर्खेतमा ७१ जना, जन ज्ञान भण्डार मावि मालारानी सुर्खेतमा १ सय २१ जना, मानसरोबर मावि हुम्लामा ६८ जना, बालमन्दिर मावि हुम्लामा ६४ जना, सरस्वती मावि लेकबेसी सुर्खेतमा ९६ जना, जनज्योति मावि कुनाथरीमा ७२ जना, प्रभात मावि छिन्चुमा ९७ जना, महादेव मावि गुराँस गापालिका दैलेखमा ८६ जना, प्रभाकर मावि देवस्थल सल्यानमा ८७ जना र जनसेवा मावि घुस्रा सुर्खेतमा १ सय १ जना गरेर १ हजार १ सय ४ जनाले सामुदायिक शिक्षा प्राप्त गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले आफ्नो वार्षिक विवरणमा उल्लेख गरेको छ ।

अख्तियार कार्यालय सुर्खेतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पर्ने कार्यालयहरुकै उजुरी अत्याधिक पर्ने गरेका छन् । शिक्षामा उजुरी धेरै आउनु र शिक्षा क्षेत्रमै सामुदायिक शिक्षा कार्यक्रम गरिनुले त्यस क्षेत्रमा हुने अनियमिततालाई न्यूनिकरण गर्नु अख्तियारको उद्देश्य रहेको छ ।

माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि नै अख्तियारको दुरुपयोग बारे जानकारी दिन सकेको खण्डमा अख्तियारको दुरुपयोग गर्नु गैरकानूनी कार्य हो भन्ने सकारात्मक प्रभाव पर्ने भएकोले पनि विद्यालयस्तरमा सामुदायिक शिक्षा कार्यक्रम गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका कार्यालय प्रमुख ज्ञानराज सुवेदीको भनाई छ । उनले भने, ‘विद्यार्थीलाई सुशासनका क्षेत्रमा प्रतिवद्ध राखेर भविष्यमा समेत ऐन, नियम तथा कानूनको पालना गर्दै सुशासनका लक्ष्यमा उनीहरु पुग्न सकुन् र कहिँ कतै अख्तियारको दुरुपयोग नहोस् भन्ने मुख्य उद्देश्य हो ।’ अख्तियारको दुरुपयोग गर्नुहुँदैन भन्ने थाह हुँदाहुँदै पनि कतिपयले व्यक्तिगत लाभका कारण र राजनीतिक दबाब र प्रभावका कारण पनि यस्तो गर्ने गर्दछन् ।’ अख्तियार दुरुपयोग गर्न नदिनु सबै नागरिकहरुको कर्तव्य भएकोले पनि सामुदायिक शिक्षा कार्यक्रम आवश्यक भएको कार्यालय प्रमुख सुवेदीले बताए । आजका विद्यार्थीहरु भोलिका असल नागरिक बनेर जीवन निर्वाह गर्न सकुन् भन्ने लक्ष्यका साथ २ वर्षदेखि सामुदायिक शिक्षा कार्यक्रम संचालन भइरहेको छ । दीर्घकालिन लक्ष्यको नतिजा आउन समय लाग्ने भएपनि अल्पकालिन रुपमा आएको परिवर्तनले प्रवद्र्र्धनात्मक कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गरेको कार्यालय प्रमुख सुवेदीको भनाई छ ।

कुनै पनि क्षेत्रमा अख्तियारको दुरुपयोग हुनु हुँदैन त्यसमा पनि देशको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रमा नै अख्तियारको दुरुपयोग हुनु दुर्भाग्य हो । शिक्षा प्रदान गर्ने स्थानमै अख्तियारको दुरुपयोग भयो भने त्यसको नकारात्मक असर विद्यार्थीहरुमा समेत पर्न जान्छ । जसले गर्दा भविष्यका कर्णधारहरुको मनमा नराम्रो प्रभाव पर्ने गर्दछ । त्यसलाई न्यूनिकरण गर्नका लागि सामुदायिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी छ । सामुदायिक शिक्षा कार्यक्रमले गलत नगर्ने तर्फ सचेत गराएको छ भने गलत गर्नेहरुका विरुद्ध उजुरी गर्न सहयोग पुगेको छ । साथै गलत भएकै भए उजुरी गर्नु तर खराब नियत राखेर उजुरी गर्नु हुँदैन भन्ने शिक्षा प्रदान गरेको प्रमुख सुवेदीले बताए । उनले थपे, ‘गलत गर्नेहरुलाई अख्तियारले कुनै हालतमा पनि छोड्दैन भन्ने जानकारी समेत भएको छ । प्रवद्र्धनात्मक रणनीति अनुसार सामुदायिक शिक्षा कार्यक्रमले राम्रो प्रभाव पारेको छ ।’

अख्तियारको दुरुपयोग रोक्न र भ्रष्टाचारलाई न्यूनिकरण गर्नका लागि अख्तियार गर्ने चेतनामूलक कार्यक्रम अन्तरक्रिया पनि हो । अख्तियार कार्यालय सुर्खेतले गत आ.व. ०७५/०७६ मा विभिन्न स्थानहरुमा विभिन्न मितिमा अन्तरक्रिया कार्यक्रमहरु समेत संचालन गरेको थियो । जसको सकारात्मक प्रभाव परेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतको भनाई छ । कर्णाली प्रदेशको दैलेखमा २५ जना, कालिकोटमा ४१ जना, जुम्लामा ५९ जना, जाजरकोटमा ५९ जना रुकुम पश्चिममा ५५ जना, सल्यानमा ४८ जना, सुर्खेतको छिन्चुमा ६६ जना, दैलेखमा १ सय ४७ जना, सुर्खेतमा ८० जना, मुगुमा १ सय २५ जना र हुम्लामा ७५ जना गरेर ७ सय ८० जनासँग अन्तरक्रिया गरेको अख्तियारले आफ्नो वार्षिक विवरणमा उल्लेख गरेको छ ।

विभिन्न स्थानमा गरिएका अन्तरक्रियाहरुमा समाजमा हुने गरेका अख्तियारका दुरुपयोगहरुको बारेमा कार्यालयलाई जानकारी हुने र कार्यालयको तर्फबाट पनि के कस्ता स्थानहरुमा अख्तियारको दुरुपयोग हुन्छ भन्ने बारेमा सहभागीहरुलाई जानकारी दिन सकिने भएकोले यो प्रभावकारी रहेको कार्यालय प्रमुख सुवेदीले क्वीकखबरसँग बताए । अन्तरक्रिया कार्यक्रम पश्चात कोही कसैले गलत नियतले कुनै कार्य गर्न खोजेमा खबरदारी स्थानीयबाटै खबरदारी गर्ने कार्यमा बृद्धि हुनु सफलता भएको सुवेदीको भनाई छ ।

अख्तियारको दुरुपयोग कानून बमोजिम दण्डनीय छ र कोही कसैले यस्तो कार्य गर्न हुँदैन भन्ने जान्दा जान्दै पनि सार्वजनिक कार्य गर्नेहरुले यस्तो गर्दछन् भने अख्तियारले कुनै पनि हालतमा त्यसलाई उन्मुक्ति नदिने अख्तियारको नीति छ ।