चौथो सहिद स्मृति दिवस मनाइयो
सुर्खेत ।
कर्णाली प्रदेश प्राप्तिका लागि बलिदानी दिने सहिदहरुका सपना अधुरै रहेको बताइएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री विमला केसीले चौथो सहिद स्मृति दिवसको कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । उनले भनिन्, ‘सहिदको बलिदानीले आज कर्णालीका बासिन्दा हौ भनेर गर्व गर्न पाइएको छ तर सहिदले देखेका सपना पूरा गर्न सकिएको छैन ।’

प्रदेश सरकारले सहिदको बारेमा सोचे अनुसार काम गर्न नसकिएको स्वीकार्दै उनले थपिन्, ‘प्रदेश प्राप्तिसँगै अधिकारका लागि बलिदानी दिने सहिदहरुको सम्झनामा एउटा प्रतिष्ठानले स्मृति दिवसको आयोजना गरेको छ । उपस्थिति न्यून छ, तर भत्ता पाउने कार्यक्रममा बाक्लो उपस्थिति हुन्छ भने सहिदको स्मृति दिवसमा उपस्थिति नै पातलो हुनु दुःखको कुरा हो ।’ सहिद परिवारका लागि हामी के ग¥यौ समीक्षा गर्न जरुरी छ भन्दै मन्त्री केसीले आन्दोलनमा सुर्खेतीहरुको भूमिका चानचुने नभएको बताइन । उद्योग बाणिज्य संघ, राजनीतिक दल, नागरिक समाजको भूमिका अहम थियो । कर्णालीको समृद्धिका लागि र सहिदको सपना साकार पार्न भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा मन्त्री केसीले जोड दिइन । सहिदको बलिदानीबाट प्राप्त भएको प्रदेशमा कसैले अनियमिता गरेमा पहिलो खबरदारी गर्ने अधिकार सहिद परिवारलाई भएको उनको भनाई थियो । उनले भनिन्, ‘पाँचौ सहिद स्मृति दिवसका कार्यक्रमहरु कर्णाली प्रदेश सरकारले आयोजना गर्ने वातावरण सिर्जना गरोस् ।’

यसैगरि जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले सहिदहरुको सपना पूरा भए भएनन् भनेर मूल्याङ्कन गर्ने बेला भएको बताए । उनले भने, ‘हामी जनमुखी छौ वा आफूमुखी छौ सोच्ने बेला आइसक्यो ।’ स्मृति दिवसमा हरिमाया शर्माले भनिन्, ‘सहिदको बलिदानीले कर्णाली प्रदेश स्थापना भएको हो । त्यसैले सहिदहरुको योगदानको उच्च कदर गर्नु पर्दछ ।’ भावना डुबेर बस्नु भन्दा काम गरेर देखाउनु पर्ने उनको भनाई थियो । जसका लागि भावना र विचारलाई साथसाथै लैजान सक्नु पर्दछ शर्माले भनिन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यता सहिद परिवारका सदस्यहरु भने कर्णाली प्रदेश सरकारले गरेका कार्यहरु प्रति सन्तुष्ट हुन सकेका छैनन् । सहिद परिवारसँग भएका निर्णयहरु कार्यान्वयन हुन नसक्नु, सहिद परिवारलाई एउटा परिचय पत्रको समेत व्यवस्था गर्न नसक्नु र सहिद परिवारलाई रोजगारको व्यवस्था गर्न नसक्नु प्रदेश सरकारको कमजोरीपना भएको याम बिसी प्रतिष्ठानका सचिव एवम् शहिद याम बहादुर बिसीकी बहिनी भगवति विसीको भनाई छ ।

सहिदको स्मृतिमा ‘कर्णाली प्रदेशको समृद्धि र सहिदको सपना’ विषयक वक्तृत्वकला प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रम याम बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष शेरबहादुर बुढाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजिकरण पूर्णदेव अधिकारीले गरेका थिए ।







