Loading... आजः ५ बैशाख २०८३, शनिबार । Saturday 18th April 2026
ताजा खबर
  

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाण्डाै

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

unn.prixa.net

निमोनियाका कारण गएको साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीमा रहेको हिमाल अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

उहाँको जन्म १९७९ फागुन ६ गते काठमाण्डाैको गैरीधारामा भएको थियो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँका नाति अवनी दीक्षितका अनुसार दीक्षितको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । माधवी ग्रन्थका लागि उहाँलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो । उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ ।

मदनमणि दीक्षितका प्रकाशित कृतिहरूः
१. माधवी (उपन्यास, वि.सं.२०३९)
२. चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं.२०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्‍यो ? (कथा संग्रह, वि.सं २०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)
१२. जीवन महाअभियान १३. ऋग्वेद केही प्रमुख सूक्त (२०६५ वि. सं.)
उहाँले समीक्षा साप्ताहिकको सम्पादक भएर काम गर्नुभएको थियो भने उहाँका कथा, लेख, निबन्ध आदि विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित छन् ।

 

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने जनाएको हो । दिक्षितकाे ९७ वर्षकाे उमेरमा बिहीबार बिहान निधन भएकाे हाे ।

२००७ सालअघिकाे जहाँनिया राणा शासन तथा पञ्चामतिवराेधी आन्दाेलनमा स्वर्गीय दीक्षितकाे याेगदान स्मरणीय रहेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले ट्वीटमार्फत स्वर्गीय दीक्षितको निधनमा दुःख व्यक्त गर्दै मन्त्रालयका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएकाे छ ।

 

View image on Twitter