पचास एसपीको सरुवा सुर्खेतमा पन्त
काठमाडौं ।
नेपाल प्रहरीले ५० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयअनुसार एसपीहरुको सरुवा गरिएको प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । एसपीहरुको सरुवाको क्रममा सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपी बसन्त रजौरे प्रहरी प्रधान कार्यालय कार्य विभाग विपद व्यवस्थापन महाशाखा प्रशिक्षक समूह सामाखुसीमा सरुवा भएका छन् भने उनको ठाउँमा महानगरीय दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा कार्यरत एसपि दिल्लीराज पन्त आउने भएका छन् ।
विभिन्न जिल्ला प्रदेश प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबार, लागुऔषध नियन्त्रण ब्यूरो, दङ्गा नियन्त्रण, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत विभिन्न कार्यालयमा कार्यरत एसपीहरुको पनि सरुवा भएको छ । यसैक्रममा प्रहरी प्रधान कार्यालय जगेडापुल नक्सालमा कार्यरत रामेश्वर प्रसाद यादव कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा आउने भएका छन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा कार्यरत एसपी विमल बस्नेत महानगरीय प्रहरी कार्यालय परिचालन कक्ष प्रशासन रानीपोखरी काठमाडौंमा सरुवा भएका छन् ।
३८ किलो सुनकाण्ड प्रकरणका आरोपी विकासराज खनाल बारामा सरुवा भएका छन् । पक्राउसमेत परेका उनलाई उच्च अदालत मोरङले साधारण तारेखमा रिहा गरेको थियो । त्यतिबेला उनी मकवानपुरमा एसपी थिए र २०७५ वैशाख ११ गते पक्राउ परेका थिए ।






