ओली सरकारले सिन्को पनि भाँच्न सकेनः जबरा
सिन्धुली,
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले केपी ओली नेतृत्वको सरकारको कुशासनबाट आक्रोशित जनताले विकल्प खोजेको बताएका छन्।

शनिबार सिन्धुलीमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै जबराले इतिहासकै बलियो सरकार जनताले दिएपनि सरकारले सिन्को पनि भाँच्न नसकेको आरोप लगाए।
‘इतिहासकै बलियो दुई तिहाइको नेकपा सरकारलाई जनताले मौका दिएकै हुन्। तर, सरकारले केही सिन्को भाँच्न सकेन,’ उनले भने।
विगत १६ महिनामा ओली सरकारले मुलुकमा भ्रष्टाचार, कुशासन र अधिनायकवाद उन्मुख शासन शैलीबाहेक केही दिन नसकेको उनको आरोप छ। गुठी विधेयक र पत्रकार रवी लामिछाने प्रकरणमा जनताको आक्रोश छताछुल्ल भएको भन्दै अध्यक्ष जबराले जनताले खोजेको विकल्प राप्रपा (संयुक्त) ले दिने दाबी गरे।
सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र राष्ट्रपतिको भूमिका निष्पक्ष नभएको जिकिर गर्दै उनले निष्पक्ष संस्थाको रुपमा राजसंस्थाको आवश्यकता टड्कारो रहेको बताए। जनताको चाहना बमोजिम राजसंस्था र सनातनहिन्दू राष्ट्रका लागि आन्दोलन गर्ने पार्टीको योजना रहेको राणाले बताए।
कार्यक्रममा अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तारुढ दलहरुले माक्र्सवादको नाममा मुलुकमा लुटतन्त्र मच्चाएको आरोप लगाए। ‘नेता बनेर जनताको सेवा गर्ने होइन सरकारमा पुगेर अकुत सम्पत्ति आर्जन गर्ने प्रवृत्ति बढेको छ। अब नेताहरुको सम्पत्ति छानविन गर्नुपर्छ,’ उनले भने।
काठमाडौँ प्रेस बाट साभार






