Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

वडा नं. ६ नमुना बन्नेमा विश्वस्त छुः नगरप्रमुख

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले ६ नंं. वडा नमुना वडाको रुपमा विश्वस्त रहेको बताएका छन् । वडा नं. ६ एवम् अक्फामको संयुक्त आयोजनामा फोहोर मैला व्यवस्था सम्बन्धि भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले भने, वडा नं. ६ सुन्दर तथा फोहोर व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्नेमा म विश्वस्त छु । वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशकै राजधानी रहेको नगरपालिका भएकोले फोहोरको सकारात्मक प्रयोग कसरी गर्ने भन्ने बारेमा सबैलाई बुझाउन आवश्यक रहेको नगरप्रमुख सुवेदीले बताए । फोहोरलाई मोहर बनाएर ती मोहरसँग रमाउने बनाउन सकिएको खण्डमा वीरेन्द्रनगरको फोहोर व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ मुख्य बजार क्षेत्र भित्र रहेकोले पनि फोहोर व्यवस्थापनका क्षेत्रमा चुनौति रहेको भएपनि यसलाई सफा वडा को रुपमा विकास गर्न सकिने फोहोर व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका जियाना प्रा.लि. का संचालक निरञ्जन केसीको भनाई छ । नियमको कडा पालना गरे गराएमा वीरेन्द्रनगरको ६ नंं वडालाई नेपालकै नमुना वडाको रुपमा विकास गर्न सकिने उनका भनाई थियो । आफ्नो टोल आफै सफा गर्नु पर्ने सकारात्मक सोचको विकास हुनु जरुरी भएको उनको भनाई थियो ।
फोहोर व्यवस्थापनका लागि भइरहेका प्रयासहरुलाई सफल बनाउनका लागि स्थानीयवासीको विशेष भूमिका रहने वडा नं. ६ का वडा अध्यक्ष मोतिप्रसाद कंडेलले बताए । उनले भने पैसा लिनु दिनु भन्दा पनि वीरेन्द्रनगरलाई सफा, सुन्दर र हरियाली बनाउनका लागि वडाले पहलकदमी गरेको उनको भनाई थियो । उनले भने हामीले कार्यविधि समेत निर्माण गरिसकेका छौ । त्यसलाई कार्यान्वयन गरेर अघि बढ्छौ र लक्ष्य प्राप्तिका लागि कुनैपनि क्षेत्रमा दबाब र प्रभावमा पर्दैनौ । नियमको पालना नगर्नेलाई सेवा सुविधामा रोक लगाएर भएपनि कर्णाली प्रदेशको राजधानीको मुख्य क्षेत्रमा रहेको वडा नं. ६ लाई समृद्ध वडा बनाएरै छाड्छौं ।
नैतिक शिक्षाको पालना नगरेसम्म फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्न गाह्रो भएको सुर्खेत उद्योग बाणिज्य संघका कोषाध्यक्ष भद्र भण्डारीले बताए । फोहोर उत्पादन गर्न मात्र होइन फोहोर व्यवस्थापन गर्न पनि जान्नु आवश्यक भएको उनको भनाई थियो । सानैदेखि व्यवहारिक नभएकोले पनि फोहोर व्यवस्थापनमा समस्या आएको होला तर संस्कारको विकास गर्नु आवश्यक छ । २०१२ मा प्लाष्टिक मुक्त शहर हुनु पर्ने अभियान संचालन गरेको स्मरण गर्दै उनले भने फोहोर व्यवस्थापनका लागि सचेतना बढाउने तर्फ विशेष ध्यान दिन आवश्यक छ । अभियान संचालन गर्नका लागि धेरै मान्छेको आवश्यक नपर्ने बताउँदै आफैबाट सुरु गर्न सकेको खण्डमा लक्ष्य प्राप्ति हुने भण्डारीको भनाई थियो । मैले मेरो समाज र मेरो जन्मभूमिको लागि के गर्न सके भन्ने बारेमा सचेत नागरिकले सोच्नु पर्ने उनको भनाई थियो ।
वातावरण सुधार समाजसँगको सहकार्यमा फोहोर व्यवस्थापनको बारेमा अध्ययन अनुसन्धान गरिरहेको संस्था अस्फामका सुमन गुप्तका अनुसार वीरेन्द्रनगरका प्रत्येक घरबाट सरदरमा ७ केजी कुहिने र ३ केजी नकुहिने फोहोर निस्कने गरेको छ । पछिल्लो समयमा जंकफुटको प्रयोग बढेसँगै नकुहिने फोहोरमा बृद्धि भएको पाइएको छ । चाउचाउदेखि अन्य प्लाष्टिक जन्य वस्तुहरुको प्रयोगका कारण पनि फोहोर व्यवस्थापन चुनौति बनेको छ । जसका लागि प्लाष्टिक प्रयोगमा न्यूनिकरण गर्न आवश्यक छ ।
अध्ययनको क्रममा नगरपालिकाले फोहोर समयमा उठाइदेओस् भन्ने स्थानीयहरुको धारणा रहेको पाइएको छ । साइरनको व्यवस्थापन गरेको भए कुन समयमा फोहोर उठाउनका लागि गाडि आउँछ भन्ने बारेमा जानकारी पाइने थियो स्थानीयहरुले बताएको अध्ययनमा भेटिएको बताइएको छ । फोहोर व्यवस्थापनका लागि कानूनी रुपमा कडाई गर्नु पर्ने वातावरण सुधार समाजसँगको सहकार्य गरिरहेको अक्फामका बन्दना शर्माले बताइन् ।
कुहिने फोहोरलाई अर्गानिक मलको निर्माण गर्ने प्रविधिको विकास गर्न सकेमा कुहिने फोहोर व्यवस्थापनमा सहयोग पुग्ने शर्माको भनाई थियो । वडा नं. ६ ले कौशी खेतीको विकास गरेर केही हदसम्म पनि कुहिने फोहोरलाई व्यवस्थापन गरेकोमा खुसी व्यक्त गरिन् । कुहिने फोहोरबाट अर्गानिक रुपमा बायो ग्याँस र कम्पोष्ट मल तयार गर्न सकिने भएकोले फोहोरलाई मोहरको रुपमा परिणत गर्न सकिने शर्माको भनाई थियो । फोहोर व्यवस्थापनमा सहयोग गर्नका लागि आइसिटीको प्रयोग गर्न सकेमा अझ प्रभावकारी हुने बताइएको छ । तर त्यसका लागि केही समय लाग्ने भएकोले फोहोर व्यवस्थापन गर्दै प्रविधिलाई पनि अघि बढाउन कार्यक्रममा सहभागीहरुले सुझाएका थिए ।
प्रत्यक्ष निगरानीमा फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरुको अनुगमन गरिएको र त्यसमा स्थानीयहरुले कत्तिको सहयोग गरेका छन् भन्ने कुरा स्पष्ट भएकोले स्थानीयहरुले पनि फोहोर व्यवस्थापनमा साथ दिन कम्प्यूटर सहायक रेखा केसीले बताइन ।
फोहोर व्यवस्थापन गर्न आफैबाट सुरु गर्नुपर्ने नगरप्रहरी प्रमुख निलकण्ठ ढकालले बताएका छन् । उनले भने आफ्नो फोहोर व्यवस्थापनमा प्रहरीको सहयोग लिनु पर्ने अवस्थाको सिर्जना हुनु भन्दा आफै सचेत हुनु पर्ने उनले बताए । फोहोर व्यवस्थापनका लागि वीरेन्द्रनगर नगरपालिकाका बासिन्दाहरु आफै सचेत नभएसम्म नगरपालिकाले मात्र फोहोर उठाएर सम्भव छैन ।
अक्फाम एवम् नगरपालिका तथा प्रत्येक टोल र प्रत्येक जनजनले आफूले उत्पादन गरेका फोहोरहरु आफैले व्यवस्थापन गर्न सकेको खण्डमा वीरेन्द्रनगरलाई सुन्दर बनाउन सकिने सहभागीले सुझाए । दीर्घकालिन र अल्पकालिन योजना निर्माण गरेर छाडा पशु चौपायाहरुलाई व्यवस्थापन गर्न सकेको खण्डमा पनि वीरेन्द्रनगर सुन्दर हुन सक्छ ….
सबै नागरिक सचेत भएपनि त्यसलाई प्रयोगमा नल्याउनुले पनि फोहोरको समस्या आएको बताउँदै विद्यार्थीहरुलाई समेत फोहोर व्यवस्थापनका साथै हरियालीका बारेमा केही ज्ञान दिन सकेको खण्डमा सफलता प्राप्त गर्न सकिने मंगलगढी टोलका चक्र बहादुर खड्काले बताए ।
होडिङ बोर्डहरु राख्नु पर्ने, प्लाष्टि मुक्त क्षेत्रका नाराहरु लेख्नु पर्ने, प्रहरीले समेत विशेष ध्यान दिनु पर्ने, कानूनको कडा रुपमा लागु गर्ने हो भने अवश्य पनि सफल हुन सकिने भगवती टोल विकासका नन्दा दाहालले बताइन ।
मण्डी क्षेत्रमा बढि फोहोर हुने भएकोले विशेषगरि त्यहाँ ध्यान दिनु पर्ने वातावरण टोलका अध्यक्ष टोप बहादुर शाहीले बताए । मासुजन्य फोहोरलाई तुरुन्त व्यवस्थापन गर्नु आवश्यक भएकोले फोहोर संकलनका लागि गाडि दैनिक रुपमा पुग्नु पर्ने शाहीको भनाई थियो ।
फोहोरको बारेमा अध्ययन गर्न जाँदा वस्तुगत विषयसँग सम्बन्धित फोहोरहरु उठाइदिएमा सहयोग पुग्ने अध्ययनकर्ता नविन बयलकोटीले बताए । अध्ययनका क्रममा कतिपय स्थानमा राम्रो व्यवहार भएको तर कतिपय स्थानमा फरक व्यवहार भएको पाइएको रामजानकी टोलको उपाध्यक्ष कृष्णा बोहोराले बताइन । चाडपर्वको समयमा यस्ता कार्यक्रम गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनको भनाई थियो । तारहरुको अस्तव्यस्तका कारण पनि वीरेन्द्रनगरलाई कुरुप बनाएको उनको भनाई थियो । अध्ययन गर्न मात्र होइन जानकारी दिने उद्देश्यका साथ आफू समाजमा गएको उनको भनाई थियो ।
नगरपालिकाले फोहोर व्यवस्थापन वापतको रकममा एकरुपमा गर्न सकेको खण्डमा सहज हुने स्थानीयहरुले बताएको शान्तिटोलका उषा कुरेलले बताइन् । तर वडा नं. ६ का बजार प्रतिनिधि यशोदा शाहीले भनिन्, बस्तुगत समितिले निर्णय गरे अनुसार रकम उठाएको बताइन् ।