राष्ट्रकवि घिमिरे १०१ वर्षमा प्रवेश
सुर्खेत ।
राष्ट्रकवि माधव घिमिरे १ सय १ वर्षमा हिजो मंगलबारदेखि प्रवेश गरेका छन् । एक शताब्दी पूरा गरी दोस्रो शताब्दीमा प्रवेश गरेका राष्ट्रकविको १ सय १ औँ जन्मोत्सव भव्यताका साथ मनाइएको छ । यस अवसरमा उनलाई निवासमै पुगेर शुभकामना शुभेच्छा ब्यक्त गर्ने क्रम विहानैबाट शुरु भएको थियो । राष्ट्रकवि घिमिरेको जन्मः वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको हो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल साहित्यकार घिमिरेले कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख प्रबन्ध जस्ता विधामा कलम चलाएका छन् । जिवनलाई नै प्रकृतिसापेक्ष ढङ्गबाट व्याख्या गर्ने राष्ट्रकविका लेखाईहरु दिर्घसाधनाले भरिएका छन् ।
उनको गौरी शोककाव्य सवैभन्दा चर्चित कृति हो । नेपाली साहित्यलाई उचाइँ दिएका राष्ट्रकवि घिमिरेका गीतिनाटक ‘मालती मङ्गले’ र हिमालपारि हिमालवारि तथा विभिन्न गीत संग्रह र निबन्धहरु पनि प्रकाशित छन् । यसैबीच राष्ट्रकविको १ सय १औं जन्मदिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य र दीर्घायूको शुभकामना दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाली वाङमयले अझै लामो समयसम्म काव्य साधक राष्ट्रकवि घिमिरेको साधनामय सृजना प्राप्त गर्न सकोस् भनेका थिए । उनले एक शताब्दी पूरा गरि दोस्रो शताब्दीमा पाइला टेकेको अवसरमा साहित्यकार, साहित्यिक संघसंस्थाहरुले समेत शुभकामना व्यक्त गरेका थिए ।






