रहेनन् पत्रकार डिलप्रकाश
सुर्खेत ।
दैलेख भगवतीमाई गाउँपालिका वडा नं. २ रुममा घर भई सुर्खेतमा बसेर क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकार डिलप्रकाश शर्माको निधन भएको छ । उनी बोनम्यारो रोगबाट ग्रसित थिए । लामो समयसम्म उपचारको क्रममा पत्रकार शर्माको काठमाडौंस्थित सिभिल अस्पतालमा बिहीबार उनको निधन भएको हो । बोनम्यारो प्रत्यारोपण प्रक्रिया शुरु भएपछि उनकी बहिनी नानकलाले झन्डै सात घन्टा लगाएर रगत दिन थाल्दै गर्दा उनको निधन भएको अस्पताल स्रोतले बताएको छ । बोनम्यारोको प्रत्यारोपणमा ७२ घन्टा जोखिमपूर्ण हुने चिकित्सकहरुले बताएका थिए ।

उनको उपचारमा १५ लाख भन्दा बढि पैसा लाग्ने भएकोले घरको आथिृक अवस्थाका कारण उपचार खर्चको समस्या परेको छ । त्यसैले सुर्खेतस्थित विभिन्न संघ संगठन तथा पत्रकारका हितमा काम गर्नेहरुले यतिबेला पत्रकार डिलप्रसाद शर्मा बचाउ अभियानमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
शर्माको भारतको गुजरातमा डेढ महिना उपचार भएको थियो । त्यसपछि आर्थिक अभावका कारण उनको त्यहाँ उपचार हुन सम्भव नभएपछि उनलाई काठमाडौं ल्याइएको थियो । काठमाडौंमा समेत उनले धेरै लामो समयसम्म बेड नपाएका कारण उनको बोनम्यारोको उपचारमा समस्या भएको थियो । शर्मालाई बोनम्यारो रोग लागेको उनी विरामी परेको तीन महिना अघि मात्रै पुष्टि भएको थियो ।
पत्रकार शर्माको निधनप्रति दुःख व्यक्त गर्दै रफत सञ्चार क्लब सुर्खेतले उनको आत्माको चीरशान्तिको कामना गरेको छ । अध्यक्ष खगेन्द्र अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उनको निधनले सुर्खेती पत्रकारिता जगतमा ठूलो क्षति भएको बताइएको छ । उनी रफत सञ्चार क्लब सुर्खेत शाखाका सहसचिव थिए ।
यसैगरि पत्रकार महासंघ सुर्खेत शाखाले शोक वक्तव्य जारी गर्दै पत्रकार महासंघ सुर्खेत शाखाका साधारण सदस्य पत्रकार शर्माको निधनले स्तब्ध भएको जनाएको छ ।







