दण्डहीनता अन्त्यको लागि कर्णाली सरकार प्रतिवद्ध : मन्त्री भण्डारी
सुर्खेत
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पत्रकार विरुद्ध हुने दण्डहिनताको घटना अन्त्य गर्नको लागि कर्णाली सरकार प्रतिवद्ध रहेको जनाउनुभएको छ । कर्णालीमा पत्रकार विरुद्धका आपराधिक घटनाहरु बढिरहेको भन्दै यसको अन्त्यको लागि प्रदेश सरकार लागिपर्ने उहाँको भनाई थियो । फ्रिडम फोरम नेपालको आयोजना तथा कर्णाली फाउण्डेशनको सहकार्यमा सोमवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सुरक्षा र दण्डहिनता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । ‘पत्रकारले स्वतन्त्र रुपले लेख्न र बोल्न नपाएको अवस्था छ’ उहाँले भन्नुभयो, ‘लेख्दा र बोल्दा जिवनकै असुरक्षा हुनुपर्ने अवस्था पनि आएको पाइन्छ ।’ पत्रकार माथि हुने यस्ता खालका आपराधिक घटनाको अन्त्यको लागि सरकार अघि बढेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो । पत्रकारकारहरु स्वयंम आचारसंहिता पालना नगर्दा पनि विभिन्न आक्रमणका घटनाहरु बढ्ने भएकाले स्वयंम पत्रकारहरु आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकारको सुरक्षाको लागि कर्णाली सरकारले स्वास्थ्य विमा कार्यक्रम लागु गरेको बताउनुभयो । जसबाट गत जेठमा दुर्घटनामा परेका स्वर्गीय पत्रकार नन्दु गेलाङको परिवारलाई दुई लाख ५० हजार रकम प्रदान गरिएको बताउनुभयो । त्यसैगरी पत्रकारिता विषयमा स्नाकोत्तर गर्नको लागि छात्रवृत्ति कार्यक्रम लागु गर्ने तयारीमा रहेको मन्त्री भण्डारीले बताउनुभयो ।
कर्णाली सरकारका मुख्य न्याधिवक्ता विद्याभुषण मानन्धरले पत्रकारहरुले स्वतन्त्र भुमिका निर्वाह गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । पत्रकारहरु आचारसंहिता पालना गर्नुको साथै स्वतन्त्र भुमिका निभाएमा पनि पत्रकार माथि हुने दण्डहिनताका घटनामा कमी आउने उहाँले जोड दिनुभयो ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख पूर्ण चन्द्र जोशीले पत्रकारको सुरक्षाको लागि प्रदेश प्रहरी तयार रहेको प्रतिवद्धता जनाउनुभयो । ‘पत्रकारमाथि आक्रमण भएमा त्यसको सुरक्षाको लागि हामी तयारी छौ’ उहाँले भन्नुभयो, ‘यस्ता खालका घटनाहरुको न्यूनिकरणको लागि हामी तयारी छौ ।’
आवाज संस्थाका मनोविमर्शकर्ता निशा पौडेलले नेपाली पत्रकारीता जगत नै चपेटामा रहेको भन्दै सुरक्षाको लागि सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । महिला मानव अधिकार रक्षक सञ्जाल सुर्खेतका सचिव सर्मिला विसीले न्यायको लागि आवाज उठाउने मानव अधिकारकर्मी पनि असुरक्षामा रहेको बताउनुभयो । पीडितको पक्षमा आवाज उठाउँदा पिडक पक्षबाट असुरक्षा हुने अवस्था आएको भन्दै उहाँले मानवअधिकारकर्मीको सुरक्षाको लागि पनि आवाज उठाउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले स्वतन्त्र रुपमा पत्रकारीता गर्न नसकेको बताएका छन् ।






