क्षेत्रीय पर्यटन सूचना केन्द्रको नवनिर्मित भवनको उद्घाटन
सुर्खेत ।
कर्णाली प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री नन्दसिह बुढाले पर्यटकीय गन्तव्य सम्बन्धि सूचना प्रवाह हुुने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा क्षेत्रीय पर्यटन सूचना केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री बुढाले यस्तो बताएका हुन् । सूचना केन्द्रको भवन उद्घाटनमा बोल्दै मन्त्री बुढाले भने, ‘संघीय सरकारले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पर्यटकीय गन्तव्यस्थलको पहिचान गर्ने काम पर्यटन सूचना केन्द्रले गर्नेछ ।’ यस केन्द्रलाई कर्णालीको पर्यटन सचिवालयको रुपमा समेत प्रयोग गर्ने योजना रहेको बताउँदै मन्त्री बुढाले प्रदेशमा आउने पर्यटकहरुको सूचना राख्न र यहाँका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्नका लागि केन्द्रले काम गर्ने विश्वास व्यक्त गरे । पर्यटन विकासले प्रदेशको आर्थिक तथा रोजगारीका क्षेत्रमा समेत योगदान दिने भएकोले पर्यटनका क्षेत्रमा सूचना केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।

भवन उद्घाटन कार्यक्रममा सुर्खेत काँक्रेविहार यातायात व्यावसायी प्रा.लि. का अध्यक्ष रमेश सापकोटाले यातायात क्षेत्रले पनि पर्यटकीय विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले आफ्नो प्रा.लि. का यात्रुबहाक सवारी साधनहरुमा पर्यटन वर्षको लोगो लगाएर व्यापक प्रचार प्रसार गर्नमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले पर्यटकनको विकासमा नीजि क्षेत्रले गर्नु पर्ने कार्यहरु गर्नका लागि नीजि क्षेत्र तयार रहेको बताउँदै यस संग काम गर्ने सरोकारवाला निकायहरुले समेत समन्वय गर्न अनुरोध गरे ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्र बहादुर बिसीले पर्यटनको विकाससँगसँगै घरेलु तथा साना उद्योगको विकास पनि अपरिहार्य रहेको बताए ।
कर्णाली प्रदेशमा रहेका सबै पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार तथा यहाँ आउने पर्यटकहरुको बारेमा समेत जानकारी राख्ने उद्देश्यका साथ यस केन्द्रले नेपाल भ्रमण वर्ष २०२० मा सहयोग पुग्ने संस्थाका अध्यक्ष लोमनकुमार बुढाले बताए ।

नेपाल सरकारको २० लाख लागत र ८ लाख जन सहभागीता लागत गरि जम्मा २८ लाखमा उक्त भवनका निर्माण गरिएको बताइएको छ । भवन उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु, कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकाया, क्यान कर्णालीका अध्यक्ष प्रेमप्रकाश चन्दलगायतको उपस्थिति रहेको थियो । केन्द्रका कोषाध्यक्ष यमुना सापकोटाले शब्द स्वागत गरेको कार्यक्रम अध्यक्ष लोमनकुमार बुढाको अध्यक्षतामा भएको थियो भने सहजिकरण संस्थाका सचिव पूर्णदेव अधिकारीले गरेका थिए ।









