बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न नेपालगञ्जमा बन्यो आन्दोलन समिति
नेपालगञ्ज ।
बाँकेलाई कर्णाली प्रदेशमा गाभ्नका लागि आन्दोलन गरिने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अग्रसरतामा बुधबार नेपालगञ्जमा राजनीतिक दलका नेता, संचारकर्मी, नागरिक समाजका अगुवा लगायतको सहभागितामा भेला भएको छ ।

भेलाले आन्दोलनका लागि नेपालगञ्ज उप–महानगरपालिकामा सचिवालय रहने गरि १७ सदस्यीय समिति गठन गरेको नेकपाका नेता रत्न खत्रीले जानकारी दिनुभयो ।
प्रदेश ५ को अस्थायी राजधानी बुटवल भएपछि बाँकेमा कर्णाली प्रदेशमा गाभिनुपर्ने आवाज चर्को रुपमा उठ्न थालेको छ । संविधान निर्माणका समयमा समेत सुर्खेतसँग मिसिनुपर्ने आवाज उठेपनि मधेस आन्दोलनका कारण चर्किन सकेको थिएन ।
पछिल्लो समय नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले सार्वजक कार्यक्रममा नेपालगञ्जको विकासका लागि कर्णाली प्रदेशमा गाभिनुको विकल्प नभएको बताउँदै आउनुभएको छ । नेपालगञ्जका उद्योगी ब्यवसायीहरु पनि आर्थिक हिसावले पनि नेपालगञ्ज कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा रहेका छन् ।
समितिले आन्दोलनको वातावारण तयार पार्नका लागि बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद लगायतसँग छलफल गर्ने, बर्दियासँग समन्वय गरि अघि बढ्ने सहमति गरेको छ । यसैबीच नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाको बैठकमा समेत यस विषयमा छलफल भएको छ ।
बैठकमा मेयर डा. धवलशम्शेर राणाले बैठकमा भएका निर्णयबारे जानकारी गराउनुभएको थियो । समितिमा राजनीति दलको समेत प्रतिनिधित्व रहेका कारण यसपटक आन्दोलन उठ्ने राप्रपाका नेता ऋषिराज देवकोटाले बताउनुभयो ।
पश्चिमन्यूज






