Loading... आजः २८ श्रावण २०७७, बुधबार । Wednesday 12th August 2020
Trending:

परीक्षा दिन भन्दै परीक्षा केन्द्र पुगे विद्यार्थीहरु

सुर्खेत ।
सरकारले कोरोना भाइरस संक्रमणको कारण देखाएर माध्यमिक शिक्षा (एसइई) परीक्षा सुरु हुनुभन्दा करिब १३ घण्टा अगाडि मात्र परीक्षा स्थगित ग¥यो । परीक्षाको सबै तयारी पूरा भएको बताएको समाचार चारैतिर फैलिए पनि परीक्षा स्थगित भएको समाचार भने चारैतिर फैलिन नपाउँदै परीक्षा सुरु हुने समय भइसक्यो । सूचना प्राप्त नगरेका वा परीक्षा स्थगित भएको हो वा होइन भन्ने द्विविधामा रहेका विद्यार्थीहरु हातमा प्रवेश पत्र र कलम बोकेर परीक्षा केन्द्रमा पुगेका छन् ।

परीक्षा दिन भनेर विद्यालय पुगेका विद्यार्थीहरु र सहायक केन्द्राध्यक्ष सुमित्रा न्यौपाने

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको चन्द्रगंगा माध्यमिक विद्यालय गाग्रेतालका प्रधानाध्यापक नेत्रमणी चालिसेका अनुसार अधिकांश अभिभावक र विद्यार्थीहरुले फोन गरेर परीक्षा रोकिएको हो वा होइन एकिन गरे पनि कतिपय विद्यार्थीहरु परीक्षा दिन भनेर केन्द्रमै आएर फर्किएका छन् ।

सुर्खेत शिक्षा इकाई प्रमुख नारायण पौडेलले भन्नुभयो, ‘सबै विद्यार्थीहरु मिडियाको पहुँचमा नभएका कारण पनि विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगेका हुन् । तर सबै परीक्षा केन्द्र तोकिएका स्थानहरुमा केन्द्राध्यक्ष बसेर अर्को सूचना नभएका सम्मका लागि परीक्षा स्थगित भएको जानकारी गराउने व्यवस्था मिलाइएको छ ।’

देशका अधिकांश परीक्षा केन्द्रहरुमा परीक्षार्थीहरु पुगेका थिए । सूर्योदय माध्यमिक विद्यालय बैजनाथ बाँकेमा सहायक केन्द्राध्यक्ष सुमित्रा न्यौपाने पुग्दा बिद्यार्थीहरु विद्यालयको गेट अगाडि लाइन लागेर बसिसकेका थिए । अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित भएको खबर गरेर विद्यार्थीहरुलाई फर्काइएको सहायक केन्द्राध्यक्ष सुमित्रा न्यौपानेले क्वीकखबरलाई जानकारी दिनु भयो ।