Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

लकडाउनकै बीच संघीय संसदको अधिवेशन सुरु

काठमाडौं ।

संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । शुक्रबार दिउँसो ४ बजे प्रतिनिधिसभा र राट्रियसभाको बैठक बसेको हो ।

कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरे पनि विशेष सावधानी अपनाएर संसद बैठक बसेको छ ।

जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रिबजेट छलफल गर्नुपर्ने बाध्यताका कारण लकडाउनकै बीच संघीय संसदको अधिवेशन बोलाइएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र पढे लगत्तै अभिवेशन प्रारम्भ भएको हो । वैशाख २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारका लागि संसदको छैठौं अधिवेशन आह्वान गरेकी थिइन् ।

अधिवेशन सुरु हुनुअघि स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार वैशाख २८ गते अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकता (प्रि बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ ।

जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । यसैगरी जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत कार्यक्रम रहेको छ ।

सांसदहरुको तापक्रम (ज्वरो) नापेर मात्रै संसद भवनभित्र पस्न दिइएको छ । गेटमा छिर्नुभन्दा पहिले सांसदहरुले औषधि राखेको फर्ममाथि कुल्चेर भित्र छिरेका छन् । भित्र छिर्नु अघि सांसदहरुलाई स्यानिटाइजर दिइएको छ । सांसदहरुले मास्क र पञ्जा लगाएका छन् ।

अनलाइन खबर