सुर्खेतमा बैंक खोल्ने समय विहान ११ देखि दिउँसो १ बजेसम्म

सुर्खेत
राष्ट्र बैँकका अनुसार सेवाका लागि बिहान ११ देखि दिउँसो १ बजे सम्मको समय तोकिएको छ । सिमित कारोबार गर्ने गरी सुर्खेतमा आजदेखि सबै बैँकहरुले सेवा सञ्चालन गरेका छन् । नेपाल राष्ट्र बैँकको निर्देशनपछि कर्णाली प्रदेशको राजधानी सुर्खेत सहित सबै ठाउँमा रहेका बैँकहरुले आ–आफ्नो शाखाबाट सेवा सञ्चालन गरेका हुन् ।


राष्ट्रिय बाणिज्य बैंक सुर्खेतका व्यवस्थापक लिलाराम ढुंगानाले बैंकबाट सँधैजस्तो सेवा शुरु गरेको जानकारी दिए । अरु दिनभन्दा आइतबार भीडभाड धेरै भएकाले प्रशासनको सहयोगमा सेवाग्राहीलाई सामाजिक दुरी कायम गरी सेवा दिइरहेको उनले बताए । व्यवस्थापक ढुंगानाले माथिको आदेश नभएपनि आएका सेवाग्राहीलाई मध्यनजर गर्दै दिउसो ३ बजे सम्म सेवा दिने योजना बनाएको बताए ।

एक पटकमा १० जनालाई निश्चित दुरी कायम गरी सेवा दिइरहेको उनको भनाई छ । बैंक अगाडी भिड धेरै भएकाले प्रहरीले सामाजिक दुरी कायम गर्न सघाइरहेको देखिन्थ्यो ।

क्रेडिट बाहेकका सवै सेवाहरु शुरु भएको सुर्खेत स्थित एक बैंकका सहायक व्यवस्थापक आदेश थापाले जानकारी दिए । ‘पहिला जस्तो त सेवाग्राही हुनुहुन्न, तर आएजतिलाई हामीले निश्चित दुरी कायम गरी सावधानीपूर्वक सेवा दिएका छौं’, थापाले भने । सुर्खेतमा १ दर्जन बढि बैंकहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *