कविता – आवरण

आज अपरान्हतिर
राँके भूत जस्तै गरि
सडक गल्लीहरुबाट निस्किएको
भय र संन्त्रासको मशाल जुलुस पश्चात
अहिले चोकमा कोणसभा चलिरहेको छ ।
अन्याय, अत्याचार, शोषण र दमनको विरुद्धमा
माइकको आवाज थर्थराउने गरि
जनहितको भाषण उरालिरहेछ
चोकको शालिक माथि चढेर
कोणसभाको नाइके ।
उ कहिले सर्वहारावर्गको भोक भगाउँछ
कहिले मेची कालीको महिमा गाउँछ
कहिले नालापानीको इतिहास खोतल्छु भन्छ
कहिले कालापानी सम्झौता पल्टाउँछु भन्छ
कहिले लिपुलेक र लिम्पियाधुराको पिल्लर खोज्छ
उ साँच्चै देशको छोरा जस्तै देखिन्छ ।
हो उसले लगाएको राष्ट्रियताको छड्के टोपी
उसले लगाएको स्वाभिमानको दौरा सुरुवाल
अनि उसले लगाएको देशभक्तिको ज्वारीकोट
सर्वसाधारणको आँखामा पट्टी भएको छ
किनकी,
त्यही कोटको गोजिमा त उसले राखेको रहेछ
व्यक्तिगत स्वार्थको जाली रुमाल ।
कवि सुरेन्द्र लिम्बू ‘परदेशी’ विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समितिको अध्यक्ष हुनुहुन्छ ।









