Loading... आजः २१ आश्विन २०८३, बुधबार । Wednesday 7th October 2026

नेपाललाई विश्व बैंकले ५४ अर्ब ऋण उपलब्ध गराउने

काठमाण्डौ – विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप ५४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सडक सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीको लागि मार्ग निर्धारण गर्न तथा विशेषगरी महिलालाई रोजगारीको अवसर प्रदान गर्ने परियोजनाको निम्ति बैंकले रकम आज स्वीकृत गरेको हो ।

नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डको सुधार तथा कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नतिको निम्ति स्वीकृत रकमबाट नेपालको रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजनाका साथै क्षेत्रीय सडक सम्पर्क बढ्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजना भारत र अन्य देशसँगको सम्पर्क तथा व्यापार बढाउन महत्वपूर्ण हुने, परियोजनाले सीमा नाकामा व्यापार अनुकूल भौतिक पूर्वाधार तथा अवरोधरहित कृषि उपजको निर्यातमा टेवा पुग्ने बैंकले निकालेको विज्ञप्तिमा जनाइएको छ ।

कोभिड–१९ को महामारीलाई दृष्टिगत गरी परियोजना अन्तर्गत सीमा नाकामा आयात–निर्यात हुने वस्तु र त्यसमा संलग्न व्यक्तिको सुदृढ परीक्षण, विशेष कार्यव्यवस्था, सुरक्षित सामाजिक दुरी र भौतिकरुपमा टाढैबाट कार्यसम्पादनको व्यवस्था गरिनेछ । रासस