Loading... आजः १३ बैशाख २०८१, बिहीबार । Thursday 25th April 2024

नेपालमा भित्रियो सलहको झुण्ड

काठमाडौं ।

नेपालमा पनि सलहको झुण्ड भित्रिएको छ । शनिवार विहान बारा जिल्लाको निजगढ नगरपालिका, रौतहटको उत्तरीभेग तथा सर्लाही जिल्लामा सलहको झुण्ड देखिएको त्यहाँका बासिन्दाले बताएका छन् ।निजगढ नगरपालिकामा शनिवार विहान सलह कीराको झुण्ड देखिएपछि कृषि ज्ञान केन्द्र बाराको टोलिले स्थलगत अध्ययन गरिरहेको बुझिएको छ ।

भारतसँग सिमाना जोडिएका सर्लाहीको नवलपुर र बाराको निजगढमा सलहको झुण्ड देखापरेपछि कृषि मन्त्रालयले नेपालमा पनि सलह भित्रिएको औपचारिक रुपमा पुष्टि गरेको हो ।

कृषि विभागका सूचना अधिकारी महादेव प्रसाद पौडेलका अनुसार सलहनै भएको पुष्टि भएपनि कुन प्रकारको हो भन्ने बारे अझै पुष्टि भएको छैन ।

निजगढ नगरपालिकाका स्थानीय बासिन्दाले सलहको झुण्डले बालीनाली खाएर सखाप पार्ने बताएपछि केन्द्रको टोलि अध्ययन गर्न आइपुगेको स्थानीय यादवप्रसाद भण्डारीले बताए ।

उनका अनुसार अधिकांशले यसक्षेत्रमा अधिकांशले हाईव्रिड जातको मकै भित्र्याइसकेता पनि पछिल्लो लटको मकै खेतीमा सलहको झुण्डले क्षति पुर्‍याउने हो कि भन्ने चिन्ता रहेको बताए । निजगढ नगरपालिकाको विभिन्न वडामा चार ओटा झुण्ड बनाएर सलह बसेको स्थानीयले बताएका छन् ।

भारतको उत्तर प्रदेशमा जेठको दोश्रो साता सलहको झुण्डले बालीनाली सखाप पारेका थिए । नेपालमा पनि आकस्मिक रुपमा एकाएक सलहको झुण्ड देखापरेपछि कृषि मन्त्रालयले सलहले पुर्‍याउन सक्ने क्षति र यो अवस्थासँग जुध्न के गर्ने भन्ने बारे शनिवार नै छलफल गर्न लागेको बताइएको छ ।

के हो सलह किरा ?

सलह अफ्रीकाको एक स्थानीय फट्याङ्ग्रा प्रजातिको किरा हो । जसको छोटो सिङ हुने गर्दछ । यसले आफ्नो जिवन चक्र सुख्खा क्षेत्र तथा विशेषगरी मरुभुमिको वालुवामा पुरा गर्न सक्दछ ।

एक वयश्क पोथि सलहले ८० ओटा सम्म अण्डा पार्न सक्दछ भने करीब २ देखि ३ महीनामा वच्चाहरु तयार हुने गर्दछ । वयश्यक भइसकेको सलह ४ देखि ५ महीनासम्म बाँच्ने विज्ञहरुले बताएका छन् ।

जुन ठाउँमा यसको झुण्ड पुग्छ त्यस आसपासका सम्पुर्ण वनजंगलदेखि बालीनालीहरुका पात, डाँठ र वोक्राहरुमा यसले ठूलो मात्रामा क्षति पु¥याउँदछ । केवल ५ दिनमा १० किलोमिटरको यात्रा तय गर्न सक्ने बताइएको छ ।

किटविज्ञ समुद्रलाल जोशीका अनुसार सलह किरा बाँच्ने प्रक्रिया दुई चरणको हुने गर्दछ । पहिलो चरणमा समुहवाट एक्लै वस्दछ जसले गर्दा यस्तो वेलामा वोटविरुवामा खासै असर गर्दैन तर दास्रो चरणमा भने यो किरा समुहमा वस्ने हुँदा यसवेलामा यसले आफ्ना वरपरका ठूला रुखदेखि बालीनालीमा ठूलो मात्रामा क्षति पुर्‍याउँछ ।

अहिले यो किरा यहि दोस्रो चरणमा रहेकाले नै अफ्रिकाहुँदै इरान र पाकिस्तानमा समेत सन्तान उत्पादन गर्दै भारत र नेपालमा भित्रिएको उनको बुझाइ छ ।

नेपालमा पनि पश्चिमी भागवाट समुहनै बनाएर आउन सक्ने सम्भावना प्रचुर मात्रामा रहेको उनले बताए । नेपालमा पनि यसले कोशिटप्पुको बालुवामा सन्तान उत्पादन गर्न सक्ने वातावरण रहेको उनले बताए ।

यसले क्षति पुर्‍याएका रुखहरुमा पुनःपालुवा पलाउन सक्ने न्युन सम्भावना रहेपनि बालीनाली भने नष्ट भएर नै जाने हुन्छ । (अभियान)