Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

चट्याङबाट जोगिने तरिका

 काठमाडौं ।

बर्षेनी चट्याङबाट १ सय ८ जनाको मृत्यु हुने गरेको प्रहरीको तथ्याङक छ । तर सावधानीका उपायहरु भने खासै अपनाउनका लागि जनचेतना फैलाउने काम प्रभावकारी हुन सकेको छैन। चट्याङ्विद् डा श्रीराम शर्माले चट्याङबाट बच्न सकिने उपायहरु बताएका छन्।

चट्याङ विद्युतीय करेन्ट हो । बादल आपसमा ठोक्किएर त्यसका अणुहरुबीच घर्षण हुँदा विद्युत् उत्पन्न हुने अवस्था नै चट्याङ हो । आकासबाट जमीनमा खस्ने एक प्रकारको विद्युतीय शक्ति चट्याङ् हो । वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन चै चट्याङ् हो ।

चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठुलो विद्युतीय तापशक्ति पृथ्वीमा आउने हुँदा जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्ने क्षमता हुन्छ । रुख, टावर, अग्ला ठाउँहरुमा चट्याङ बढी पर्छ र यसलाई सजिलो बाटो दिनुपर्छ । सामान्यरुपमा कम्तीमा आठ एमएम रड कुनै भवनको छतको माथि ठड्याई त्यसलाई जमिनसम्म जोडेर राख्ने हो भने पनि घरलाई जोगाउन सकिने चट्याङ्विद् डा श्रीराम शर्माले बताए।

प्राकृतिक प्रकोप भएकाले चट्याङ रोक्न सकिँदैन तर त्यसबाट बच्ने उपाए भने खोज्न सकिन्छ । घर बाहिर भएमा वर्षातको बेलामा होचो स्थानमा बस्ने, पानी, खोला, रुख, पोखरीमा नबस्ने, विद्युत् लाइन, कम्प्युटर बन्द गर्ने गर्नुपर्छ । चट्याङ पर्दा खुला ठाउँमा टाउको र खुट्टा जोडेर बस्नु उत्तम हुन्छ । पानीमा काम गर्न र पौडी खेल्न पनि हुँदैन ।

सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्नुपर्छ । पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किनु उत्तम हुन्छ । ठूला रुख, विजुलीका तार, पोल तथा ट्रान्समिटरको तल बस्नु हुदैन । विजुलीको राम्रोसँग अर्थिङ गर्नुपर्छ । (नेपाल न्युज)