Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

काठमाडौं ।

नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । सैनिक अदालतले बुधबार सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार दुवै अधिकृतलाई सैनिक आचरणविपरीत गतिविधि गरेको कसुरमा बर्खास्त गरिएको हो । समरी जनरल सैनिक अदालतले सैनिक ऐन २०६३ अनुसार दुवैलाई कारबाही गरेको उहाँले बताउनुभयो ।

‘माथिल्लो कमाण्डरले लिखित रूपमा दिएको आदेश जानीजानी पालना नगरी अवज्ञासम्बन्धी कसुर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरीतको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको हुँदा निज रथीवृन्द तथा अधिकृतलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पद्दति र प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनता अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्यअनुसार अनुशासन र आचरणविपरीत कार्य गर्नेहरूलाई शून्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा नेपाली सेना प्रतिबद्ध रहेको पनि निर्देशनालयले प्रष्ट पारेको छ ।

सैनिक स्रोतका अनुसार सहायक रथी रावल अमेरिकाबाट भर्खरै वार कलेज सकेर फर्किनुभएको थियो भने महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा पर्नुभएको थियो ।

हिमालय टाइम्स बाट