Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीमा बढे कोरोना संक्रमित

सुर्खेत ।
सरकारले विश्वभर कोरोना महामारी फैलिएपछि त्यसको नियन्त्रणको लागि भन्दै २०७६ चैत्र ११ गतेदेखि गरेको लकडाउन खुला गरेकै दिन कर्णालीमा कोरोना संक्रमितको संख्या बढेको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणको एक मात्र उपायको रुपमा रहेको लकडाउन रहेको बताउँदै आएको सरकारले पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आएको र जनजीवन समेत अस्तव्यस्त भएको भन्दै लकडाउन हटाएको थियो । यही साउन ७ गते बुधबारबाट लकडाउन हटाएको छ ।

७ गते नै लकडाउन हटेको र कर्णालीका विभिन्न स्वास्थ्य संस्थाबाट आएको परीक्षणको रिपोर्टमा २२ जनालाई कोरोना भाइरस पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ६ जना र दैलेख अस्पतालमा १६ जनामा कोरोना पुष्टि भएको हो । नयाँ २२ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको स्ंख्या १ हजार ७८३ पुगेको छ ।

यस भन्दा अगाडि साउन ६ गते १२ जना, ५ गते ११ ४ गते १ जना ३ गते ४ जना २ गते ७ जना र १ गते १२ जना संक्रमित भएका थिए । पछिल्लो २४ घण्टामा कर्णालीमा १३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको स्ंख्या १ हजार ५४६ पुगको छ भने अहिलेसम्म ६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । अहिले २३१ जना सक्रिय विरामीको रुपमा रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।