Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कोरोनाको कहरका कारण यो वर्ष घरघरमा नाचगान गरी मनाइदै तीज पर्व

आज हिन्दु नारीहरुले तीज पर्व मनाउँदै छन् । यो वर्ष कोरोना कहर भएकोले जमघट नभई नाजगान घरघरमै गरि मनाउने तयारीमा छन् नारीहरु । पती अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरुको अटल सौभाग्य र सदासर्वदा भरिभराउ कोखकालागि भगवान स्वंयम धर्तीमा झर्छन जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ, निराहार र निर्जला व्रत बस्ने चलनलाई भने आज हामी यस आलेखको शुरुमै परिमार्जन गरेर आफ्नो स्वास्थ सुहाउँदो तवरले सहज र सरल व्रत बस्ने परामर्श दिन चाहन्छौं ।

पार्वतीले शिवजी वरका रुपमा प्राप्त गरौं भनेर मनोकामना राखेर तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वाश रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्दछ ।

तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु हुन् । हरेक वर्ष सयौं तीजका नयाँ भाकाहरु आउने गर्दछन् र तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् । अब थोरै कुरा गरौं तीजका गीतहरुको, परम्परागत शैलीका मौलिक गीतहरुको साटो अश्लिल अनि दुईअर्थलाग्ने गीतहरुको प्रयोगले तीजको माहौल दुषित हुन भनें कृपया नदिनुहोला । रत्यौलीका गीत र शब्दहरु अनि तीजका भाकाहरु अवश्य फरक छन् तथापि सस्तो लोकप्रियताका लागि रत्यौलीका शब्दहरुमा अझ श्रोता, दर्शक यस्तै मन पराउँछन् भन्दै तथाकथित मसला हालेर तीजकालागि तयार गरिनुले तीजको गहनतालाई हलुका त बनाएको छैन रु सोचनीय छ । चाहे लाउडस्पीकरमा घन्किने गीत हुन या थपडीका आवाज, तीजमा संगीतको महत्व अत्यन्त धेरै हुन्छ, त्यो मौलिक होस्, नेपाली माटोको सुगन्ध दिने खालको होस् ।
रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, वुलाकी, असर्फि लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहौलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको संझना, आजको दिन रातो रङ्गको दिन, पवित्रताको दिन, सङ्गीतको दिन अनि नृत्यको दिन । आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँदछ ।

समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन्, आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु–स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसंग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन् ।

विभिन्न टेलिभिजन च्यानल र रेडियोहरुले आजको दिन विभिन्न ठाउँहरूमा अनेक कार्यक्रमहरू गरी आयोजना हुने तीजको विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गर्ने गर्दछन् । रातो रङ्ग र हर्षको प्रवाह आज नेपाली सञ्चार माध्यमहरुले पनि गर्नेछन । पत्रिकाहरु पनि तीज विशेष रौनकयूक्त तस्बिर र शब्द सामाग्रीले भरिएको हुनेछन । सनातन हिन्दू महिला लगायत अधिकांंश नेपाली महिला हृदय आज पूर्णत् तीजको रङ्गमा रङ्गीएको छ ।

’तीज’लाई महिलाहरुको चाड भनेर निकै लेप लगाइएपनि पुरुष र महिलाहरु दुवैकालागि यो चाड एकदमै महत्वपूर्ण छ । महिलाहरुले जसरी आफ्नो श्रीमान र भविष्यमा हुने श्रीमानकोलागि व्रत बस्ने तीजजस्तो चाडको अवसर प्रदान गरिएको छ तर पुरुषहरुकालागि भने महिलाप्रति समर्पित यस्तो कुनै व्रत या चाडको इतिहास छैन । तथापि पुरुषहरुले आफ्नो जिम्मेवारी वहन गरेर महिलाहरुप्रति थप जिम्मेवार, माया र सद्भाव बढाएर आफ्नो स्नेह बाँचुञ्जेल प्रवाह गर्न सक्दछन ।

आजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ, माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।
’तीज’ शब्द नामारकण कसरी भयो भन्ने कुरामा हामीले थारै अध्ययन गर्यौं । जसमा प्राप्त जानकारीलाई यहाँहरूमाझ राख्दैछौं । तीज बर्षायाममा निस्कने एकप्रकारको किरा भएको र बर्षायामको उत्तरार्धमा भएको यो चाडको नामाकरणको कथा यसै बर्षे किरासंग समबन्धित भएको पनि पायौं । अर्कोतर्फ तीहार, त्योहार भन्नाले उत्कर्षको चाडका रुपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्योहारबाट तीजको स्वरुपमा आएको कुराहरु पनि पायौं । बास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान शिव पाउँ भनेर गरेको १०८ बर्षको तपस्याको याद दिलाउने गर्दछ । अहिले आएर वरवधुले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरु तुहीएर जाने हामीसबैलाई थाहा छ । माता पार्वतीको असिम कृपाले प्रेम अनि प्रेमीहरुको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।

तीजको साँझ १०८ सुतेवत्ति दियो प्रज्जवलन गरिन्छ र ती दिपशिखाहरु रातभरिनै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्दछ । पति पत्नि, भावि पति, पत्नि अनि सम्पूर्ण परिवारबिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिकासाथ अघि बढाउन सकोस्, सबैको जय होस । यसपालाको तीजको कृपाले बिग्रिएका सम्बन्ध सप्रियोस्, भावनाहरु जोडिउन्, हरेक नेपाली जोडीहरुको हजारौं जोर सपनाका थानहरु पुरा हुन् । तीज पर्वको शुभकामना । (स्रोत : हाम्रो पात्रो)