Loading... आजः ८ कार्तिक २०७७, शनिबार । Saturday 24th October 2020

म्युजिक भिडियोको भरमा एलिजा

नेपालमा राम्रो चलचित्रमा अभिनय गर्न धेरै कलाकार लालाहित हुन्छन् । राम्रो व्यानकार चलचित्रमा काम गरेर हिट हुनु सबैको चाहना हुन्छ तर त्यस्तो अवसर कमैले पाउँछन् । कि ठूला व्यानरको नजिकको कलाकार हुनुपर्छ कि दर्शकले निकै मन पराएको कलाकार हुनुपर्छ । यो नियम नायक र नायिका दुवैमा लागू हुन्छ ।

म्युजिक भिडियोको भरमा एलिजा

कतिपय यस्ता कलाकार छन् जो आफू अभिनय गर्न आफंैले चलचित्रमा लगानी गरेर आउनुपर्छ । सके चलचित्रमा पूरा लगानी गरेर निर्माता हुँदै नसके सहनिर्माता अर्थात् थोरै लगानी गर्नुपर्छ । आजभन्दा करिब एक वर्षअघि प्रदर्शन भएको चलचित्र ‘अनुराग’ पत्रकार ऋषि धमलाको प्रस्तुतिमा निर्माण भएको हो । अर्थात् पत्रकार धमलाले लगानी गरेको चलचित्र हो । उक्त चलचित्रमा धमला पत्नी एलिजा गौतम नायिकाको भूमिकामा हुनुहुन्छ ।

एलिजाको चलचित्रमा अभिनय गर्ने इच्छा अन्य व्यानरबाट पूरा हुन सकेन । पति ऋषि धमलाको लगानीकर्तामा नाम राखे पनि एलिजाकै कारण ऋषिले लगानी गर्नुभएको हो । निर्माण गर्ने घोषणा गर्दा नायक पल शाहसँग काम गर्ने चर्चा चल्यो तर पछि पलले चलचित्रमा काम नगर्ने भएपछि अर्का नयाँ नायकलाई लिएर निर्माण भयो ।

नायिका एलिजाले चलचित्र राम्रो चल्ने आशा गर्दागर्दै चलचित्र ‘फ्ल्प’ हुन पुग्यो । चलचित्रले लगानीसमेत उठाउन सकेन । एलिजालाई लागेको थियो कि यो चलचित्र प्रदर्शन भइसकेपछि अन्य व्यानरबाट अफर आउला र काम गरौंला तर अफर शून्य भयो ।

एलिजालाई चलचित्र नभई बरु म्युजिक भिडियोमा अफर आउन थाल्यो । चलचित्रमा जस्तो नभई म्युजिक भिडियोमा थोरै पारिश्रमिक दिएपुग्ने र बजारमा एलिजाको राम्रै चर्चा भएकाले म्युजिक भिडियो निर्माता तथा निर्देशकको ध्यान उहाँमा पुग्यो । अहिले एलिजाले अभिनय गरेका म्युजिक भिडियो भटाभट सार्वजनिक भइरहेका छन् ।

नेपालमा पहिलो चरणको लकडाउनपछि लकडाउन केही खुकुलो भएको समयमा एलिजालाई म्युजिक भिडियो सुटिङको फुर्सँदै थिएन । नेपालमा चल्तिका नायकहरूसँग कम्मर मर्काइरहनुभएको थियो । चलचित्रमा जुर्न नसकेको जोडी पल शाह र एलिजाको म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ । यस्तै एलिजाले अर्का नायक पुष्प खड्कासँग अभिनय गरिसक्नुभएको छ ।

चलचित्र नफानेको एलिजालाई म्युजिक भिडियो फापेको देखिन्छ । र एलिजा खुशी म्युजिक भिडियोमै भएको पाइन्छ । किनकी म्युजिक भिडियोले युट्युबमा राम्रै ‘भ्युज’ पाउने र चर्चा राम्रो हुनेभएकाले एलिजा दंग देखिनुहुन्छ । आफूले लगानी नगरी चलचित्रको अफर नआउने भएपछि अब एलिजा म्युजिक भिडियोकै भरमा हुनुहुन्छ ।

नायिका एलिजाको सामाजिक सञ्जाललाई अवलोकन गर्ने हो भने पछिल्लो समय म्युजिक भिडियोका पोष्टर र नायकहरूसँगको लाइफ भिडियो ज्यादा देखिन्छ । एलिजाले आफूले अभिनय गरेका म्युजिक भिडियोको प्रमोशन पनि दिल खोलेर गरेको पाइन्छ । सोमबार एलिजाले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो ‘आटो पिठो’ सार्वजनिक गरिएको छ । जसमा नायक पल शाहसँग नृत्य गर्नुभएको छ । निशान भट्टराई र सोनीका लामाको स्वर रहेको उक्त गीतको भिडियो टेकेन्ट शाहले निर्देशन गर्नुभएको छ ।

त्यो भन्दाअघि चारदिन पहिले नायक पुष्प खड्कासँग अभिनय रहेको ‘म सास बन्न सकुँ’बोलको गीत सार्वजनिक भएको थियो । यस्तै एलिजाले नायक पल शाहसँगै ‘धानै कुट्ने ढिकी’ बोलको गीतमा पनि अभिनय गर्नुभएको छ ।

अहिलेको कोरोना माहामारीले नेपाली चलचित्रलाई एक वर्ष ठूलो धक्का लाग्ने देखिएको छ । यो बेलामा चलचित्रका कलाकारहरू म्युजिक भिडियोमै रमाउन थालेको देखिन्छ । अन्य चल्तिका नायक तथा नायिका पनि म्युजिक भिडियोमा काम गरिरहेको देखिन्छ ।