सिन्धुपाल्चोक पहिरो : सात शव भेटियो, उद्धारकार्य जारी
सिन्धुपाल्चोक ।
बाह्रविसे नगरपालिका ७, घुम्थाङको पहिरोमा पुरिएर मृत्यु भएका सात शव फेला परेका छन् । अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
पहिरोमा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल बिक,सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार र ट्याक्सी शेर्पाको शव फेला परेको बताइएको छ । पहिरोले नागपुजे र भीरखर्कका १८ घर बगाउँदा २४ जना अझै बेपत्ता भएका छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार र खोजी कार्य जारी रहेको छ । पहिरामा पुरिएर कम्तिमा २४ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन् । पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।
सभामुख सापकोटा पहिरा स्थलमा
सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुग्नुभएको छ । उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुग्नुभएको हो । उहाँसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुग्नुभएको छ ।






