Loading... आजः ७ भाद्र २०८३, आईतवार । Sunday 23rd August 2026

कर्मचारीको लापरवाही सेवाग्राहीलाई सास्ती

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ का कर्मचारीको लापरवाहीको कारण सेवाग्राहीले सास्ती पाउने गरेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ मा बस्ने नविन शर्माले आफ्नो आमा देवकुमारी शर्माको नाममा भएको जग्गा कानूनी प्रक्रिया अनुसार मिति २०७५ भाद्र १२ गते आफ्नो नाममा ल्याएपछि सम्पत्ति कर तिर्नका लागि २०७७ भाद्र २८ गते वडा कार्यालयमा जाँदा वडा कार्यालयले नविन शर्माकै आमाको नाममा नगदी रसिद काटिदिएपछि कर्मचारी आफ्नो काममा जिम्मेवार नबनेको खुलेको हो ।

अन्य कारोबार समेत गर्नु पर्ने भएकोले नविन शर्माले आफ्नी दिदी सरस्वती भट्टराईलाई नगदी रसिद सच्याउन पठाए पनि वडा कार्यालयका कर्मचारीले त्यसो गर्न नसकिने भन्दै नगरपालिकामा पठाइ दिए । उनी नगरपालिका गएपछि नगरपालिकाले कर्मचारीले पुनः वडा कार्यालयमै हुनु पर्ने काम भएकोले यहाँ किन आउनु भएको भन्ने प्रश्नले सरस्वतीलाई फेरि वडा कार्यालयमै जान बनाए पनि सरस्वतीले नगरपालिकाबाटै बनाइ दिन अनुरोध गरेपछि उनले सम्पत्ति करको रसिदको प्रतिलिपी त पाइन तर सबै सरस्वती जस्तै शिक्षित सेवाग्राही छैनन् । जसले गर्दा कर्मचारीहरुले काम गर्ने क्रममा अध्ययन अनुसन्धान भन्दा पनि मनोमानीले बोलिदिने गरेको पाइएको हो ।

यस सम्बन्धमा वडा अध्यक्ष ध्रुब चपाइँ भने त्यसो नभएको र कुनै कारणले त्यसो भएको भए आफूले वडा कार्यालयका कर्मचारीसँग बझु्ने बताउँछन् । कतिपय साना तिना कामहरुमा सेवाग्राहीले समेत सचेत हुनु पर्ने उनको भनाई छ ।