Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

सूक्ष्मदृष्टि छैठौं वर्षमा

छैठौं वर्षमा हिड्यौ हामी

हामीले आज फेरि अर्को खुट्किलो पार गरेका छौं । आज भन्दा छ वर्ष अगाडि हामीले यस ‘सूक्ष्मदृष्टि’ साप्ताहिक पत्रिकाको शुरुवात गरेका थियौं । आजदेखि सफलतापूर्वक पाँचौं वर्ष पूरा गरि छैठौं वर्षमा प्रवेश गरेका छौ । आगामी दिनहरुमा पनि आफ्नो यात्रालाई सफलतातिर लैजानका लागि यहाँहरुको सल्लाह, सहयोग र रचनात्मक सुझावको पर्खाईमा ‘सूक्ष्मदृष्टि’ ले आफ्ना आँखा बाटोभरी बिछ्याइरहेको छ ।


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेर सूचना प्रवाहको क्षेत्रमा हाम्रो अभियानमा सदैव साथ दिने र हौसला प्रदान गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरु प्रति हामी आभारी छौं । नागरिकले पाउनु पर्ने सही सूचना र सार्वजनिक निकायहरुमा सुशासन कायम गर्नका लागि सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने निगरानी र खबरदारीलाई हामीले आफ्नो जिम्मेवारी ठानेका छौ । आफ्नो जिम्मेवारी र कर्तव्यबाट ‘सूक्ष्मदृष्टि’ कहिल्यै विचलित भएन र हुनेछैन ।

आर्थिक विपन्नता र सामाजिक विसंगतिका साथै भौतिक विकास निर्माणका दृष्टिले समेत पछि परेको कर्णाली प्रदेशमा रहेका विकृतिको अन्त्य, विकास निर्माणमा सकारात्मक वहस पैरवी, सत्य सूचनाको प्रवाहमा न हामी सुस्ताउन सक्छौ न निदाउन । विश्वमा फैलिएको कोरोना भाइरसले उत्पन्न गरेका चुनौतिसँग हामी लडिरहेका छौ । देश बन्दाबन्दीको अवस्थामा पनि हामीले बिश्राम गरेनौ । महामारीको अवस्थामा अझ बढि सूचना प्रवाह गर्नु हाम्रो जिम्मेवारी थियो । जुन हामीले सफलता पूर्वक निभाइरहेका छौ ।

देशले लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ । यस्तो अवस्थामा प्रदेश सरकार र स्थानीय सरकारले सफलता प्राप्त गर्न सकेनन् भने लोकतन्त्र नै खतरामा पर्ने निश्चित छ । जनप्रतिनिधिहरुदेखि सत्ता र शक्तिमा रहेकाहरु समेत दबाब र प्रभावमा परे भने कर्णालीले समृद्धिको ढोका खोल्न सक्दैन । कर्णाली प्रदेश आफैमा सम्भावनै सम्भावना बोकेको प्रदेश हो । तर केवल सम्भावनाको नारा लगाउँदैमा यसले समृद्धि भेट्न सक्दैन । त्यसका लागि सम्भावनालाई अवसरमा रुपान्तरण गर्दै त्यसका आधारहरुको पहिचान गरि अगाडि बढ्न जरुरी छ । जसका लागि खोज, अनुसन्धानमूलक र समय सापेक्ष सामग्रीहरु प्रकाशन गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ । जसलाई पूरा गर्नका लागि हामी हरक्षण हरपल खटिरहने कुरा यहाँहरु समक्ष प्रतिवद्धता जाहेर गर्दछौ ।

विभिन्न बाधा, अड्चन र समस्याहरुसँग पौठेजोरी खेल्न सक्ने क्षमता ‘सूक्ष्मदृष्टि’ ले राखेको कुरा हाम्रा पाठक एवम् शुभचिन्तकहरुबाटै पाउँदा पत्रकारिताको क्षेत्रमा अझैँ दरिलो भएर उभिने आँट आएको छ । सकारात्मक सन्देश, ज्ञानमूलक सामग्रीहरु पस्केर सफल र असल समाज निर्माणको दायित्वलाई एउटा काँधमा बोकेर हिडिरहेका छौ भने समृद्ध नेपाल निर्माणका लागि खबरदारी गर्ने जिम्मेवारी अर्को काँधमा बोकेर हिडिरहेका छौ । छैठौं वर्षमा प्रवेश गर्दैगर्दा हामीले तपाईंहरु समक्ष भन्नैपर्छ निकै अप्ठ्यारा र चुनौतिहरुलाई पार गरेर यहाँसम्म आएका छौं । नेपाली पत्रकारिताको क्षेत्रमा काँधमा जिम्मेवारी र हातमा कलम बोकेर युद्धको सिपाही बनेर मैदानमा आउन जति सजिलो छ युद्ध लड्न त्यत्तिकै कठिन छ । त्यहीं कठिनाई भित्र संघर्ष गर्दै समृद्ध नेपाल निर्माणका लागि अघि बढेको हाम्रो यात्रा तपाईंहरुको साथ र सहयोगले सफलतातिर लम्किरहेको छ । विभिन्न तह र तप्कामा रहनुभएका पाठकवर्गको मन जित्न सक्ने पाठ्य सामग्रीको जोहो गर्नुपनि हाम्रो दायित्व हो, हामीले भुलेका छैनौं र भुल्नेपनि छैनौं । अबको पत्रकारिता समाज रुपान्तरणका लागि हुनुपर्छ । आर्थिक क्रान्तिका क्षेत्रमा कलम चल्न आवश्यक छ । अबका खुराकहरु खोज र अनुसन्धानमूलक हुनुपर्छ । अबको समाचारले मानिसको दैनिक जीवनयापनमा समेत परिवर्तन ल्याउन सक्नुपर्दछ । हो, पत्रकारिता गर्न गा¥हो छ त्यही गा¥हो भित्रको सजिलोलाई आम पाठक समक्ष विचार, विश्लेषण, ज्ञान, सूचना र सन्देशमार्फत परिवर्तनको संवाहकको रुपमा उत्कृष्ट कार्य गर्दै गहिरो अध्ययन र विश्लेषणमा आफ्नो ‘सूक्ष्मदृष्टि’ लगाउने कार्यमा हामी निरन्तर लागिरहेका छौँ ।

अन्तमा, हामीलाई माया गर्ने पाठकहरु, आफ्ना लेखरचनाहरु उपलब्ध गराउनुहुने लेखकहरु, विज्ञापन दिएर अतुलनीय सुहयोग गर्नुहुने विज्ञापनदाताहरु, पत्रिकालाई पाठकको हातसम्म पु¥याउनुहुने कर्मचारीहरु र सल्लाह सुझाव दिनुहुने शुभचिन्तकहरु प्रति हार्दिक आधार व्यक्त गर्दछौं । आफ्नो अथाह मिहिनेत र कार्यकुशलताका साथ पत्रिकाको यात्रालाई यहाँसम्म पु¥याउन दरिला पाइलाहरु टेक्नुहुने कर्मचारी साथीहरु धन्यवादको पात्र हुनुहुन्छ । हाम्रो आगामी यात्रामा पनि यहाँहरुको यस्तै माया, विश्वास र सद्भाव पाउने आशा गरेका छौ । आजका दिनसम्म ‘सूक्ष्मदृष्टि’ दबाब र प्रभावबाट मुक्त छ र मुक्त नै रहिरहने छ ।

पूरा पत्रिका पढ्नुहोस् ।