Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

दूरदृष्टि बोकेको ‘सूक्ष्मदृष्टि’

आजभन्दा ठ्याक्कै छ वर्ष अगाडिको कुरा हो । एक जना मित्रले भन्नुभयो, ‘सुर्खेतमा दैनिक पत्रिकाहरु थुप्रै भए तर मज्जाले धित मर्ने गरि पढ्नका लागि एउटा साप्ताहिकको पनि खाँचो छ ।’ यस कुराले मेरो मन नराम्रोसँग पिरोल्यो । सुर्खेतको दैनिक पत्रिका काँक्रेविहारसँगै सुरु भएको मेरो पत्रकारिताको अनुभव । त्यतिबेला म मिडिया विहिन जस्तै अवस्थामा । म गर्न सक्छु या सक्दिन भन्ने मेरो आफ्नै प्रश्नले मलाई गिज्यायो एकपटक । अनि मैले उत्तर खोज्ने जमर्को गरे । त्यो उत्तर यति गहिराईमा थियो कि जसलाई पत्ता लगाउनका लागि मैले निकै संघर्ष गर्नुपरेको थियो ।


पौडि खेल्न सिक्नका लागि पोखरीमा हाम फाल्नै पर्छ । पानीमा नपसी पौडी खेल्न कसरी सिक्नु ? नजानेको मान्छेले पोखरीमा हाम फाले जस्तै हो पत्रिकाको सुरुवात गर्नु । एकातिर आँट र अर्कोतिर गाँठ दुबै चाहिन्छ पत्रिका संचालनका लागि । कुनै दिन सुर्खेतमा एउटा समाचार लेखेको कारण रोपाइँ छोडेर म भाग्नु परेको थियो । मलाई लखेट्नेहरु लखेट्दा लखेट्दै थाकेका थिए । तर मैले लेख्न छोडिन । त्यसपछि पत्रकारिताको शक्तिको मापन गर्न जानेको हुँ मैले । त्यही शक्तिलाई प्रयोग गरेर समाज परिवर्तनको क्षेत्रमा एउटा इँटा थप्नका लागि मेरा ती मित्रले भने झँै साप्ताहिक पत्रिका प्रकाशित गर्ने निधोमा पुग्नै लाग्दा सल्लाह सबैको लिनु र निर्णय आफ्नो गर्नु भन्ने यथार्थले फेरि झकझकायो मलाई ।

त्यसपछि म सल्लाहकारको खोजीमा लागे । समाजमा सकारात्मक र नकारात्मक सोच भएका मान्छेहरु भेटिन्छन् । यो स्वभाविक हो । मैले पनि दुबै थरिका मान्छेहरु भेटें । एकथरिकाले भने राम्रो सोच अर्का थरिकाले भने अब डुब्ने पालो तेरो पनि आएछ । साँच्चिकै भन्ने भने हो कति रातहरु अनिदा बने मेरा । तरपनि निर्णय आफ्नै गर्नु भन्ने उक्तिलाई सम्झेर पत्रिकाको नामाकरणतिर लागे । करिब पचास वटा जति छानिएका नामहरु जुर्न सकेनन् । बल्ल बल्ल जुरेका पनि सूचना विभागले पहिले नै दर्ता भएका भन्दै अस्वीकृत गरिदियो ।

काँक्रेविहार दैनिकमै काम गर्ने क्रममा मैले एउटा गतिलो मान्छेसँग नजिक हुने मौका पाएँ । सुर्खेतमा धेरै मान्छेले राजनीतिज्ञ र थोरै मान्छेले कविको रुपमा चिन्ने मुकुन्दश्याम गिरी । उहाँले नै हो ‘सूक्ष्मदृष्टि’ नाम जुराउनु भएको । त्यसैले त अन्य कुराहरुलाई तपसिलमा राखेर म पत्रिकालाई जति माया गर्छु त्यत्तिकै सम्मान गर्छु कवि, समाजसेवी मुकुन्दश्याम गिरीलाई ।

सूक्ष्मदृष्टि नामको साप्ताहिक पत्रिका प्रकाशन हुने निश्चित भयो । धमिलो पानीमा छप्ल्याङ – छप्ल्याङ गर्दै थिएँ । मेरो एक मित्रले सोधे ‘पत्रिका कति अंक छापिन्छ तीन अंक या तीन महिना मात्र ।’ यो शब्दले नराम्रोसँग थिच्यो मलाई । साँच्चिकै कसैले छात्तिमै लात्तिले हिकाएको झँै भयो । फेरि एकपटक सोच्न बाध्य भएँ, पत्रिकाको निरन्तरता सजिलो छैन । आठ–दशवटा दैनिक पत्रिकाहरु संचालन भएको वीरेन्द्रनगरमा साप्ताहिक पत्रिका प्रकाशन गर्न खोज्ने म मुर्खै हुँ । अन्ततः मैले पत्रिका प्रकाशन गर्नु नै थियो । दर्ता भयो । काम अगाडि बढ्यो । पत्रिका छापियो पनि । विमोचन गर्नका लागि लामै साइत कुर्नु प¥यो । असोज १५ मा छापिएको पत्रिकालाई विमोचनका लागि २९ गतेसम्म लुकाएर राखे । मेरो पत्रकारिताका गुरु डा. महेन्द्रकुमार मल्लबाट मात्र पत्रिका विमोचन गराउने योजना थियो । अन्ततः कला, संस्कृति संरक्षण प्रतिष्ठानसँगको सहकार्यमा सूक्ष्मदृष्टि साप्ताहिक डा. मल्लकै हातबाट विमोचन गराएँ, आनन्दको अनुभूति भयो ।

दैनिक पत्रिकाहरुमा प्रकाशित हुने समाचार र साप्ताहिक पत्रिकामा प्रकाशित हुने समाचार फरक पार्नु मेरो योजना थियो । जसले दैनिक पत्रिका पढ्छन् तिनै पाठकले साप्ताहिक पनि पढुन् लक्ष्य त्यतातिर भएकोले पत्रिकालाई सुरुमै आठ पेजबाट अगाडि बढाइयो भने त्यसमा हरेक क्षेत्रलाई समेट्ने कोसिस गरियो । राजनीतिज्ञहरुका लागि विचार, साहित्यकारहरुका लागि साहित्य उद्यान, सबैका लागि स्वास्थ्य, विशेषगरि युवाहरुका लागि मनोरञ्जन, कृषकहरुका लागि कृषि, उद्योगीहरुका लागि उद्योग वाणिज्य, विद्यार्थीहरुका सामान्य ज्ञान, सचेतनाका लागि जानकारी, विचित्र संसारदेखि प्रविधिमा रमाउनेहरुका लागि प्रविधि जस्ता कुरालाई समेट्दै गर्दा भन्नै नसकिनेहरुका लागि व्यङ्ग्यसमेत समेटेर जब पत्रिका बजार डुल्न थाल्यो साँच्चिकै सूक्ष्मदृष्टिका पाठकहरुको मन जित्न सफल भयो ।

अलि अलि सूचना र विज्ञापनहरुको जोहो गर्दै अगाडि बढ्ने क्रममा सकारात्मकतामा आधारित समाचार लेख्ने कोसिस पनि भइरह्यो । अनि केवल पत्रिकाका लागि पत्रिका होइन अब आ–आफ्नो रोजाइँको स्तम्भका लागि साप्ताहिकको खोजि हुन थाल्यो । अहिलेपनि सबैका हातमा साप्ताहिक पुग्न सकेको छैन म स्वीकार्छु । तर जसले दूरदृष्टि राख्छ उसले सूक्ष्म अध्ययनका लागि सूक्ष्मदृष्टि खोज्छ भन्ने कुरामा म विश्वस्त छु ।

पाठकले दिएको प्रतिक्रियालाई आधारशीला मानेर अगाडि बढ्ने क्रममा सफलता प्राप्त भयो या भएन भन्ने आफ्नै मूल्याङ्कन गर्न नसकेर हिडिरहँदा पत्रपत्रिका वर्गिकरण समितिबाट समेत ‘प्रदेश ग’ वर्गमा मूल्याङ्कन भएपछि अब पत्रिकाले निरन्तरता पाउने कुरामा कहिल्यै द्वविधा जागेन । आम पाठकहरुको माया र सल्लाहले अहिले छैठौं वर्षमा हिड्न सफल भएको छ सूक्ष्मदृष्टि ।

पाँच–छ वर्षको कलिलो उमेरमा एउटा बालक कति सुन्दर हुन्छ । कति निर्दोष हुन्छ । कति मायालु हुन्छ । कति लोभलाग्दो हुन्छ । त्यत्तिकै सुन्दर, त्यत्तिकै निर्दोष, त्यत्तिकै मायालु र त्यत्तिकै लोभलाग्दो अवस्थामा पत्रिकालाई प्रवेश गराउन एक्लैले सम्भव नै थिएन । जसका लागि छापाखानामा पत्रिकाको प्लेट पुछ्ने अपरेटरदेखि पत्रिकालाई पाठकका हातमा पु¥याउने वितरकसम्म, आन्तरिक व्यवस्थापन गरिदिने व्यवस्थापकदेखि मार्गदर्शन गर्नुहुने अग्रजसम्मको महत्वपूर्ण भूमिका छ । आज भन्दा छ वर्ष अगाडि दूरदृष्टि बनाएर सूक्ष्म ढंगले चालिएका पाइला अब कसैले रोकेर रोकिने छैनन् । हस्तराज रेग्मीको नेतृत्वमा समाजलाई सूक्ष्म तवरले अध्ययन गर्दै समाज परिवर्तनका लागि एउटा सचेतक पिल्लर बन्न सकोस् ‘सूक्ष्मदृष्टि’ ।