Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

निजी विद्यालयका शिक्षकहरु आन्दोलित

सुर्खेत ।
सुर्खेतमा रहेका निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । आफूहरुको माग विद्यालय तथा सरकारी क्षेत्र कतैबाट पनि सुनुवाई नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन ।

विद्यालयबाट पाउनुपर्ने सेवा सुविधा २०७६ माघ महिना यताबाट नपाएको, विद्यालयको भर्ना पक्रिया सुरु भएपनि आफूहरुलाई व्यवास्ता गरिएको भन्दै तत्काल सेवा सुविधा भुक्तानी गर्न तथा काममा फर्काउन उनीहरुले माग गरेका छन् ।

निजी तथा संस्थागत विद्यालय शिक्षक, कर्मचारी यूनियन सुर्खेतका अध्यक्ष अर्जुन बुढाले बाध्य भएर सडकमा आउनु परेको बताउनु भयो । ‘विद्यालयमा हामीले गरेको योगदानको कुनै कदर भएन, हाम्रा मागहरु सरकारी क्षेत्रबाट पनि कुनै सुनुवाई भएनन्,’ उहाँले भन्नुभयो , ‘हामी बाध्य भएर सडकमा आएका हौँ । कोही शिक्षकले २०७६ माघबाट देखिको तलब सुविधा पाउनु भएको छैन, केहिले चैत्र यताको पाउनु भएको छैन । चैत्र यता सात महिना पुग्दा पनि विद्यालयबाट तलब त के कुनै फोन पनि आएको छैन । हामीलाई वास्ता गर्न छाडियो ।

सुर्खेतका पाँचवटा विद्यालयले मात्रै हाल सम्मको सेवा सुविधा दिएको भन्दै उहाँले आन्दोलन तलब सुविधाको लागि मात्रै नभएर शिक्षा क्षेत्रमा भएका विकृति विसंगतिहरुलाई नै परिवर्तन गर्न आवाज उठाएको बताउनु भयो ।

यस अघि आफुहरुले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) नेशनल प्याप्सन, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, नगर शिक्षा शाखा वीरेन्द्रनगरमा माग पत्र बुझाए पनि कुनै सुनुवाई नभएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का जिल्ला अध्यक्ष विवेक खनालले बताउनु भयो ।

‘हामीले आफ्नो मेहेनत दिनुपर्छ भनेका हौँ घर बेचेर दिनुस् भनेका होइनौँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो पेशाको गौरवताका साथ सम्मान होस भन्ने चाहान्छौँ । तर सरकार यसमा उदासिन छ । निजी विद्यालयलाई सञ्चालन गर भन्ने सरकारले यसको व्यवस्थापनमा किन लाग्दैन ?’

निजी विद्यालयको हकमा सरकारी क्षेत्रबाट हुने गरेको अनुगमन एकदमै फितलो भएको आन्दोलनरत शिक्षकहरुले बताएका छन् । यदि विद्यालय व्यवस्थापन समितिले विद्यालय सञ्चालन गर्न गाह्रो भएका कारण हाम्रो सेवा सुविधा दिन रोकेको हो भने शिक्षक संग सहकार्य गरेर सरकारी क्षेत्रमा दवाव मुलक कार्यक्रम गर्न उनीहरुले आव्हान गरेका छन् ।

यस अघि भदौँ २९ गते वीरेन्द्रनगर नगरपालिका, संस्थागत विद्यालय र शिक्षकहरु बिच भएको त्रिपक्षीय सम्झौता कार्यान्वयन गर्न उनीहरुको माग छ । जुन सम्झौतामा त्यसको १५ दिन पछि विद्यालयका शिक्षकहरुको चैत्र सम्मको तलब दिने सहमति भए पनि हाल सम्म वास्ता नै नगरिएको शिक्षकहरुको भनाई छ ।

हाल सुर्खेतमा दुई हजार भन्दा बढि शिक्षकहरु निजी विद्यालयमा आवद्ध रहेका छन् । अब पनि माग सुनुवाई नभए कडा भन्दा कडा विरोधका कार्यक्रमहरु अघि बढाउने आन्दोलनरत शिक्षकहरुले बताएका छन् ।